जनता टाइम्स

२९ असार २०७७, सोमबार १७:२४

नेपालमा साठी प्रतिशतले जिते कोरोनासँगको युद्ध : कुल संक्रमित १६९४५, डिष्चार्ज भए १०२९४ संक्रमित


काठमाडौं, असार २९ । एकैदिन १ हजार ७०५ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार एकै दिन १ हजार ७०५ जनाले कोरोना जितेर घर फर्किएका हुन ।

पछिल्लो यो तथ्यांकसहित नेपालमा कोरोना जित्नेको संख्या १० हजार २९४ पुगेको छ । जुन कुल संक्रमित संख्याको ६० प्रतिशत हो । आजसम्म नेपालमा १६ हजार ९४५ जना कोरोना संक्रमित रहेका छन । मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाका ९ जनासहित १४४ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुासार आज सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन ।

जसमध्ये प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी १४४ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० पुगेको छ भने आइसोलेसनमा ६ हजार ६१३ जनाको उपचार भइराखेको छ ।

यस्तै ४ जिल्ला महोत्तरी, रौतहट, कैलाली र बाजुरामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने पाँच जिल्ला कोरोनामुक्त भएका छन । धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भइसको छ ।