जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार २०:०५

प्रधानमन्त्री ओली जन्मस्थल आठराई र बालसखाको यादमा एकोहोरो डुवेपछि…


काठमाडौं, १०

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आउने थुप्रै नेता, कार्यकर्ता, मतदाता अनि शुभचिन्तक हुन्छन । बिहान सबेरैदेखि राति अवेरसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तरक्रिया हुन्छ । सवैजसो भेटमा प्रधानमन्त्री ओलीलाई आफ्नो कुरा भन्न आउनेले समय लिन्छन ।

अर्थात सवैका गुनासा सुन्दासुन्दा प्रधानमन्त्री ओलीको एकतिहाई समय बित्छ । दुई तिहाई समय बिकाशका योजना र नीति निर्माण अनि शीर्ष नेताको छलफलमा बित्छ । बिहीबार बिहान भने त्यो भन्दा बिल्कुलै फरक दृष्य देखियो बालुवाटारमा । सधैं राष्ट्रिय राजनीति र विकासका ठूलाठूला नीति र योजनाका बिषयमा छलफल हुने प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली एकाएक बाल्इकालमा फर्कनुभयो । आफ्नो जन्मस्थान तेह्रथुमको आठराई र बाल्यकालका साथीसंगीलाई सम्झनुभयो ।

चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्न आठराई गाउँपालिकाबाट एक टोली प्रधानमन्त्री निवास आएको थियो बिहीवार । त्यहाँ अधिकांश आठराईमै बसोबास गरेका र केही झापा र राजधानी काठमाडौंमा बसोबास गरिरहेका आठराईबासी थिए । तेह्रथुममा विमानस्थलका लागि पैसा माग्न आएको समुहका बारेमा पूर्वजानकार प्रधानमन्त्री ओली अनौपचारिक पोशाकमा नेकपाका महासचिब विष्णु पौडेलसहित बैठक कक्षमा प्रवेश गर्नुभयो ।

‘के छ आठराईको खबर ?’ प्रधानमन्त्री ओलीले प्रवेशसँगै जिज्ञासा राख्नुभयो । आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । ‘नीति तथा कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु,’ जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँको त्यो भनाईसँगै टोलीको माग पूरा भयो । त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘सुकेपोखरी–छातेढुंगा–प्रणामी मावि इवा–भदौरे–बिजौरे आधारभुत विद्यालय, हुवाकु–निगुरादिन– चोपुर हुँदै हाङपाङ स्कूल–शान्ति आधारभूत विद्यालय मिचिरिङ हुदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ ।’

जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुस गरे । चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए । तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउदै भन्नुभयो ‘ऊ मेरो गाउँले भाइ हो । अहिले प्रदेशसभाको सांसद ।’ प्रधानमन्त्रीले फेरि सम्झनु भयो ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । उहाँ चाँहि विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वा चाँहि मेरै सामु हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गर्नुभयो । ‘मेरो बाल्यकालको साथी चन्द्र । म भन्दा सिनियर पनि हुन, तर पनि हामी साथी–साथी थियौं । हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका । अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो ।’ प्रधानमन्त्रीले आठराईको अतित संझन थालेपछि आठराईबासी प्रफुल्ल बने । यही मौका छोपेर भने, ‘हामीलाई पानीको सारै समस्या छ ।’

यति भनिसक्दा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झनुभयो । ‘ऊ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सुकेर तिर्र….मात्र पानी आउँदो रहेछ ।’ पाँच बर्षअघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमती (राधिका शाक्य) लाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ । त्यसपछि आँफै हिस्स परियो ।’

पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गर्नुभयो । ‘गढी के भएछ त ? त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त,’ प्रधानमन्त्री ओलीले स्म्झनुभयो । प्रधानमन्त्री ओलीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भीर कारणहरु एकपछि अर्को गर्दै सुनाए । पूर्वप्रधानाध्यापक आरसी थपलियाले सुरु गर्नुभयो, ‘जतासुकै मोटरबाटो खनियो । यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।’ भीष्म थपलियाले थप्नुभयो, ‘भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।’

टिका उप्रेतीले थप्नुभयो, ‘पहिला जस्तो साउने झरी पर्न छाड्यो । त्यतिबेला साउने झरी हप्ता दिनसम्म बिस्तारै बर्सिरहन्थ्यो । त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो । अहिले दर्र…पानी पर्छ, जमिनको सहतमै बगेर सकिन्छ ।’ प्रधानमन्त्री ओली चाँखपुर्वक सुनिरहँदा भीम घिमिरेले अर्को कारण थप्नुभयो, ‘अहिले सानो मुल कतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै पानी पुर्याउँछन् । जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो । अनि हामी काकाकुल भयौं ।’

सवैको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गर्नुभयो । ‘तपाईंहरुसँग छ भने जग्गा दिनुहोस । हैन भने म जग्गा दिन्छु,’ प्रधानमन्त्री ओलीले बिगत सम्झदै सोध्नुभयो, ‘छन् त चुहानडाँडाँमा उप्रेतीटार, थपलियाटार ?’ त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुग्नुभयो । भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्री ओलीले गर्नुभयो । ‘हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो, मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु । खाएको छु । अहिले छन् कि छैनन भित्रिया र खमारेमा आँप कटहर ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।