काठमाडौं, असार ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निश्कर्षसहित सकिएको हो ।
स्थायी कमिटीको बैठक चलिरहेको बेला एजेण्डा भन्दा बाहिर गएर ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने भन्दै गुटको भेला भएपछि नेकपा फुटको संघारमा पुगेको थियो । स्थायी कमिटी बैठक नै पार्टी बिभाजनको कारक बन्ने अवस्था सिर्जना भएपछि अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गर्नुभएको छ । बैठक स्थगित भएपछि लगातार छलफलमा जुटनुभएका ओली र प्रचण्डबीच आजको बार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको छ । नेकपामा बिधानतः दुई अध्यक्षबीच सहमति भई हस्ताक्षर नहुँदासम्म निर्णय भएको मानिदैन ।
एकता गर्दा र बिधानमा भएको यो ब्यवस्था बिपरित अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध बहुमतको आडमा हटाउने अभियान चलाएपछि नेकपाभित्रको बिवाद चरम अवस्थामा पुगेको थियो । पछिल्लो छलफलमा यही बैधानिक ब्यवस्थाअनुसार निकास दिने गरी दुई अध्यक्षबीचको छलफल अघि बढेको हो । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दुरी कम भएको र बिहीवारको बार्तामा निश्कर्ष दिने गरी गृहकार्य अघि बढेको सचिवालयका एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो ।
‘सहमतिका बिभिन्न बिषयमा कुराकानी भएको छ, निश्कर्ष नआउँदासम्म दुवै अध्यक्षले बाहिर सार्वजनिक नगर्ने नीति लिनुभएको छ, अवको छलफलमा सकारात्मक निश्कर्ष आउँछ र सहमतिकै आधारमा पार्टी अघि बढाउने काम हुन्न भन्ने कुरा दुवै अध्यक्षबाट आएको छ,’ ओली–प्रचण्ड छलफलबारे ती नेताले भने । आज अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको हो ।
आजको बार्तामा छलफललाई निरन्तरता दिई समाधान खोज्ने सहमति दुई अध्यक्षबीच भएको छ । यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सहमतिकै लागि पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।
पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएकोले नेकपाभित्रको संकट टरेको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्