काठमाडौं, असार ३१ । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भाट) बिल बीजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले लामो अनुसन्धानमा कामपा–१ का युनिक वाइड र न्यू युनिक इन्टरनेशनलका सञ्चालकले ७३ करोड ६० लाख २८ हजार ७ सय रुपैयाँ बराबरको नक्कली भ्याट बिल बनाएको पाइएको छ । उनीहरुले वस्तु तथा सेवा नै खरिद नगरी झुटा तथा नक्कली भ्याट बिल खरिद गरेको र आयकरसमेतको राजश्व चुहावट गरेको पाइएको बिभागको भनाई छ ।
विभागका अनुसार युनिक वाइड तथा न्यू युनिक इन्टरनेशनलले भ्याटतर्फ १२ करोड ४२ लाख २८ हजार ६१७ रुपैयाँ र आयकरतर्फ रु २२ करोड ८० लाख ५९ हजार ३०९ रुपैयाँ तथा लाभांश करतर्फ दुई करोड ५७ लाख ४० हजार ७७३ रुपैयाँ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । आरोपी दुवै फर्मलाई बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।
प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजश्व अनुसन्धान बिभागले कर छली गर्ने ठुला ठुला कम्पनीहरुमाथि अनुसन्धान गरी कठोर कदम चाल्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्