जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार ०६:२४

प्रधानमन्त्री ओलीद्वारा खत्रीको निधनमा दुःख व्यक्त


काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रथम अध्यक्ष नयनबहादुर खत्रीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष नयनबहादुर खत्रीको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, दिवंगत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

पूर्वप्रधानन्यायाधीश खत्रीको ९६ वर्षका उमेरमा अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन भएको हो । स्व खत्रीको अन्त्येष्टि आज शनिबार पशुपति आर्यघाटमा गरिने बताइएको छ ।