जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार १५:४०

छालामा चिलाउने, डाबर आउने र दाग देखिने कोरोनाको लक्षण हुनसक्ने, र्‍यासेसलाई समावेश गर्न अपिल


लण्डन, साउन १

बेलायतका बैज्ञानिकहरुले कोरोना भाइरस रोग (कोभिड–१९) को नयाँ लक्षणबारे जानकारी दिएका छन् । स्कीन र्‍यासेस (छालामा दाग देखिने, छालामा डाबर आउने, चिलाउने, छालाको रंग परिवर्तन हुने), लगायतका छालामा असामान्य परिवर्तन देखिनु पनि कोरोनाको लक्षण हुनसक्ने उनीहरुले बताएका छन् । बैज्ञानिकहरुले स्किन र्‍यासेसलाई पनि कोरोना लक्षणमा समावेश गर्न बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा निकायलाई अपिल गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि स्किन र्‍यासेस पनि कोरोनाको लक्षण हुनसक्ने बताएको छ । कोरोनाको नयाँ लक्षणका सम्बन्धमा गरिएको अनुसन्धानमा प्रत्येक ११ कोरोना संक्रमितमा १ जनालाई स्किन र्यासेसको समस्या देखिएको छ । प्रमुख अनुसन्धानकर्ता डा.मारिया फाल्चीले कोरोनाका बिरामीलाई केही हप्तासम्म स्किन र्‍यासेसको समस्या रहने पाइएको जानकारी दिनुभयो ।

लण्डनको किंग्स कलेजका बैज्ञानिकहरुले २० हजार कोरोना संक्रमितमाथि गरेका अनुसन्धानले ९ प्रतिशत संक्रमितमा छालाको समस्या रहेको पाइएको हो । हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा निकायले कोरोनाको लक्षणमा ज्वरो आउनु, लगातार खोकी लाग्नु तथा सुँघ्ने शक्तिमा हस आउनु राखेको छ । डब्ल्यूएचओले शरीर दुख्नु, ज्वरो आउनु, टाउको दुख्नु, स्किन र्‍यासेस, थकाइ लाग्नु, सुख्खा खोकी, सास फेर्न गाह्रो हुनु,नाक बन्द हुनु, घाँटीमा समस्या आउनु, पखालालाई कोरोनाको लक्षणमा राखिएको छ । एजेन्सी