जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १८:००

कृषि विकास बैंकमार्फत किसानले अब क्रेडिट कार्ड पाउने


काठमाडौं, साउन २

बैंकहरुले कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै २०८० असार मसान्तसम्म कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको हो । २०८० असार मसान्तसम्म कुल १ खर्ब ऋण लगानी गरेका बैंकको कृषि क्षेत्रमा १५ अर्ब लगानी हुनुपर्नेछ ।

हाल बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहँदै आएको छ । त्यस्तै कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गरिने गर्भनर महाप्रसाद अधिकारीले घोषणा गर्नुभयो ।

सो बैंकले कृषि ऋणपत्र पनि जारी गर्न सक्नेछ । जुन रकमबाट कृषि क्षेत्रमै लगानी बढ्ने राष्ट्र बैंकको भनाइ छ । किसानलाई वित्तीय साधन तथा सूचना प्राप्त गर्नका लागि कृषि विकास बैंकमार्फत किसान क्रेडिट कार्ड प्रदान गर्ने व्यवस्था मिलाइने उहाले घोषणा गर्नुभयो । कृषि विकास बैंकका तालिम केन्द्रबाट कृषि तालिमको व्यवस्था गर्न आवश्यक संरचना तथा व्यवस्थापन मिलाइने उहाले उल्लेख गर्नुभयो ।