जनता टाइम्स

५ श्रावण २०७७, सोमबार ०८:२६

काठमाडौं उपत्यकासहित देशभर बर्षा : कहाँ–कहाँ छ बाढी–पहिरोको उच्च जोखिम ?


काठमाडौं, साउन ५ । दर्के झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन सवैलाई आग्रह गरेको छ । बिभागका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्याधिक वर्षा मापन भएको छ । मौसमविदहरुले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन ।

मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका खोला–नदीमा बहाव बढ्यो

विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी सूचना केन्द्रले आज बिहान चार बजे जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । सोहीअनुसार केन्द्रले नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । त्यसैले नवलपरासीवासीलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्रमा थप वर्षाको सम्भावना छ । त्यसैले डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।