जनता टाइम्स

५ श्रावण २०७७, सोमबार १४:४९

आफू निकट स्थायी कमिटी सदस्यसँग प्रचण्डले सुनाए निश्कर्ष : अन्तिम समझदारी त प्रधानमन्त्रीसँगै गर्नुपर्छ


काठमाडौं, साउन ५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टीलाई अघि बढाउन र मुलुकको हितमा काम गर्नका लागि अन्तिम समझदारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष ओलीको प्रस्तावमा सहमति जनाउनु भएका अध्यक्ष प्रचण्डले आज आफूनिकट स्थायी कमिटीका नेताहरुलाई आफ्नै निवास खुमलटारमा बोलाएर यस्तो निश्कर्ष सुनाउनु भएको हो । अध्यक्ष प्रचण्डले अहिलेसम्म प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग सहमति भने भइनसकेको तर सहमतिको दिशातर्फ उन्मुख रहेको जानकारी पनि गराउनु भएको भेलामा सहभागी एक नेताले जनताटाइम्सलाई जानकारी दिए । ती सदस्यका अनुसार स्थायी कमिटीका आफू निकट नेताहरुसँग खुलेरै कुरा गर्नुभएका अध्यक्ष प्रचण्डले आफू र ओलीबीच फुट ल्याउने गतिबिधिसमेत भइरहेको भन्दै त्यस खतरनाक बाटोतर्फ नलाग्न निर्देशनससमेत दिनुभएको छ ।

‘अन्तिम समझदारी त प्रधानमन्त्री केपी ओलीसँगै गर्नुपर्छ, यस्को बिकल्प छैन, कि त पार्टी फुट्नु पर्यो, होइन भने सहमित त प्रधानमन्त्रीसँगै गर्नपर्छ,’ अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै भेलामा सहभागी ती नेताले जनताटाइम्ससँग भने, ‘अहिलेसम्म ठ्याक्कै सहमति त बनिसकेको छैन, त्यसतर्फ प्रयाश जारी छ, त्यसैको लागि सवै लाग्नुपर्छ ।’ उहाँले दुई अध्यक्षबीच बिवाद ल्याउने वा समस्या पैदा गर्ने काम अव कसैबाट हुन नहुने आफ्नो बटमलाइन पनि सुनाउनु भएको छ । ‘समझदारी–असमझदारी, झगडा जे गरे पनि आखिर त्यही हो । अरूसँग कुरा मिलाएर त हुँदैन, त्यतातिर तपाईहरु नगाल्नोस,’ प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले आफूहरु –ओली–प्रचण्ड) बीच अन्तिम सहमति बन्नै लागेको बेला आफूहरुले नै बिश्वास गरेका नेताहरुले अनावश्यक दुश्प्रचार गरेर एकता भाँडने काम पनि भइरहेको भन्दै अव सवै यसतर्फ सतर्क हुनुपर्ने आवश्यकतासमेत औल्याउनु भएको छ । उहाँले मंसिरमा महाधिवेशन गर्ने बिषयमा प्रधानमन्त्रीसँग छलफल भएको भए पनि अन्तिम सहमति भने भइनसकेको जानकारी पनि दिनुभएको थियो । यस्तै शनिवारको सचिवालय बैठकपछि साँझ राष्ट्रपतिसँग भएको भेट पूर्वनिर्धारित नभई अपर्झट भएको जानकारी अध्यक्ष प्रचण्डले दिनुभएको ती नेताको भनाई छ ।

अध्यक्ष प्रचण्डसँगको भेटमा स्थायी कमिटीका नेताहरुले सहमतिका लागि जे उपयुक्त हुन्छ, त्यही गर्न र दुई अध्यक्षबीचको एकता नै पार्टी एकता भएको सुझाव दिएका थिए । ‘सहमति गर्ने दुई अध्यक्षबीच नै हो, जनताले अहिले फुट चाहेका छैनन, तपाईहरु संघर्ष, एकता, झगडा जे गरे पनि मिलाउनुस भनेर सवैले सुझाव दिएका छौं,’ ती नेताले भने । स्थायी कमिटीका नेताहरुले गणितको प्रयोग नगरी अहिलेको विवाद ‘सेफ ल्यान्डिङ’ गर्न समेत सुझाव दिएका छन । ‘निर्णय गर्ने बेलामा त दुई अध्यक्ष एउटै धारणामा नपुगी हुन्न भन्ने कुरा प्रष्ट राखेका छौं, प्रचण्ड पनि त्यही निश्कर्षमा हुनुहुन्छ,’ भेलामा सहभागी अर्का नेताले भने ।