जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार ०९:४२

राजधानी छिर्ने मुख्य नाका ठप्प, यस्तो छ कारण


काठमाडौं, साउन ६ । लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ । धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङतर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ ।

पुलको धादिङ तर्फको भुभाग खहरे खोलाले बगाएपछि सडक र पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मौवाखोलामा आएको बाढीले करिब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ। सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ । मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ । सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ । ‘माथिबाट लगातार पहिरो खसिरहेकाले हटाउनै सकिएन’, नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले भन्नुभयो, ‘पानी कम भयो भने काम थाल्छौं ।’

त्यस्तै, कुरिनटार, चोर खोला लगायतका स्थानमा पनि पहिरो खसेको छ । चारकिलो नारायण मुग्लिन सडकको सबैभन्दा बढी पहिरोको जोखिम भएको स्थान हो । असार दुई गते पनि उक्त स्थानमा पहिरो खस्दा दुई दिनसम्म यातायात प्रभावित भएको थियो । पहिरो नियन्त्रणका लागि सुरु गरिएको रक नेटिङ पनि रोकिएको छ । कमजोर भूबनोटका कारण पहिरो खसिरहँदा मजदुरले काम गर्न सकेका छैनन । पहिरोका कारण सीमलताल, जुगेडी, रामनगरमा सवारी रोकिएको छ। जोखिममा रहेका सवारीलाई सुरक्षित स्थानमा फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाई छ । नारायणगढ मुग्लिन सडकमा पहिरोका जोखिमयुक्त क्षेत्र ३२ वटा छन ।

यस्तै बार्षापछिको पहिरोले गजुरी गाउँपालिका ६ स्थित बेल्खुमा पहिरो जाँदा ३३ केभी लाइनको पोल बगाएकाले जहरे सवस्टेसनबाट वितरण भएको विद्युत सेवा अवरुद्ध छ । पहिरो गएको ठाउँमा पोल फेर्नुपर्ने भएकाले लगातारको वर्षाका कारण तत्कालै काम सुरु गर्न असहज भएको विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ । पोल ढलेका कारण आदमघाट, पिडा र गजुरी आसपासमा पूर्णरुपमा विद्युत सेवा बन्द भएको छ। मलेखु धादिङको कालुपाण्डे राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पूर्ण रुपमा बन्द छ । पहिरो हटाएर सवारी आवागमन सहज बनाउने काम भएपनि खसिरहेको पहिरोले समस्या भएको धादिङ प्रहरीले जनाएको छ ।

यस्तै बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सडक एक महिनादेखि ठप्प रहेको छ । बन्दाबन्दीको मौका छोप्दै तीन महिना अघि भीमफेदीदेखि कुलेखानीसम्म साढे १५ किलोमिटर सडक फराकिलो बनाउने काम सुरु गरिएको थियो । तर वर्षा सुरु भएसँगै कमजोर बनेको सडकको माथिल्लो क्षेत्रबाट पहिरो झर्ने जोखिम बढेपछि प्रहरीले हेटौंडा–काठमाडांै यात्रा गर्न रोक लगाइएको हो ।

‘सडक फराकिलो बनाउने काम भइरहेको छ, ठूलो पानी पर्ने बित्तिकै सडकमा पहिरो झर्ने गरेकाले त्यो बाटोबाट यात्रा गर्न जोखिम छ’, जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले भन्नुभयो, ‘स्थानीय भने हिँडडुल गरिरहेका छन् तर हामीले काठमाडौं जाने सबै सवारीलाई भैंसेबाट त्रिभुवन राजपथ हुँदै पठाउने गरेका छौं ।’ हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ पनि पहिरोका कारण दुई सतादेखि अवरुद्ध छ । निर्माणाधिन कान्तिलोकपथ एक वर्ष भित्र सञ्चालन गर्ने आयोजनाको लक्ष्य छ ।