जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार २२:०३

प्राकृतिक विपद्का घाइतेको उपचार सरकारले गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, साउन ६

मुलुकमा मनसुनजन्य विपद्मा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । घाइतेको उपचारमा कुनै कमी हुन नदिने तथा घाइते, अपाङ्ग, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सरकराले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । मृतक परिवारप्रति समेत समवेदना प्रकट गरिएको छ । विपद्बाट जनधनको क्षति हुनाका साथै यातायात, सञ्चार, विद्युत् सेवा अबरुद्ध हँुदा जनजीवनसमेत प्रभावित भएको छ ।

सरकराले विपद्का घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उद्धार, हेरविचार, गर्ने, राहत उपलब्ध गराउने सबैलाई धन्यवादसमेत दिएको छ । सबै निकाय नथा जनशक्ति परिचालन गरी तत्काल अत्यावश्यक राहतका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उहाँले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा कुनै पनि रोगको सङ्क्रमण फैलिन नदिन औषधि उपकरणसहित स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि सरकराले गरेको छ । विपद् प्रभावित क्षेत्रको विद्युत्, यातायात, खानेपानी, सञ्चार सेवा तत्काल सञ्चालनका लागि आवश्यक कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ ।

यातायात आवागमन सञ्चालन गर्न रक्षा, गृह, भौतिक पूर्वाधार र यातायात मन्त्रालयको समन्वयमा आवश्यक सम्भव भएसम्मको कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ । उद्धार र राहतका कार्यमा आवश्यक सहयोग गर्न सरकारले जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । यस दुःखद परिस्थितिमा उद्धार, राहत, आवास, उपचार, खाद्यान्नको व्यवस्थाका लागि विभिन्न निकाय सँगको समन्वयमा आवश्यक प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यस्तै गृह मन्त्रालयको सहयोगमा विपद्को क्षतिको यथाशीघ्र विवरण सङ्कलन गर्ने, मूल्याङ्कन गर्ने र त्यसको आधारमा पुनःस्थापन र पुनःनिर्माणको काममा थप आवश्यक निर्णय गर्ने सरकारले जनाएको छ ।