काठमाडौं, साउन ९ । नेपालमा केही समययता हरेक दिनजसो राष्टपति बिद्यादेवी भण्डारीमाथि आक्षेप लगाउन केही न केही फण्डा वा कथा रचिएकै हुन्छ । संबैधानिक राष्टपतिले बोल्न मिल्दैन भन्ने तथ्यबारे जानकार रहेकाहरु एकपछि अर्काे गर्दै राष्टपतिमाथि हमला गरिरहेकै हुन्छन । सामाजिक सञ्जालदेखि मिडियामा शितलनिवासमाथि आक्रमण बढिरहेको छ । अर्थात शितलनिवासमाथिको निशाना दिनप्रतिदिन बढिरहेकै छ । केही बिषय पाइएन भने फलाना ठाउँमा बलात्कार भयो, महिला भएर पनि राष्टपति किन बोल्दिनन भन्दै प्रश्न उठछ ।
यी सव घटनाक्रम नियालेर बस्नेहरु आफूमाथिको आक्षेपलाई संबिधानको दायरामा राखेर चुपचाप सहिरहनुभएको छ राष्टपति भण्डारी । अर्थात संबिधानको पालना गराउने र राष्टियताको प्रबर्धन गर्ने मुल संबैधानिक दायरामा आफूलाई राखेर सरकार र संबैधानिक निकायलाई सुझाव दिने काम गरिरहनु भएको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियामा चलाइएको मिशनबारे राम्रै जानकार हुनुहुन्छ राष्टपति भण्डारी । फेसबुक, ट्वीटरदेखि छापा र बिद्युतीय सञ्चारमाध्यममा आएका बिषयमा पनि राम्रै जानकार हुनुहुन्छ । शितलनिवाश किन बोल्दैन भन्दै प्रश्न गर्नेहरु थुप्रै रहेको र सामाजिक सञ्जालमा उठाइएको बिषयमा पनि उहाँ राम्रै जानकार भएको पाइएको छ ।
नीजि क्षेत्रका नाम चलेका दैनिक पत्रिका, अनलाइन पत्रिका, टेलिभिजनका सम्पादकदेखि र सरकारी सञ्चार माध्यमका प्रमुखहरुसँग आज भएको अनौपचारिक संवादमा राष्ट्रपति भण्डारीले समाजका हरेक क्षेत्रमा उठेका सवाल, प्राकृतिक बिपत्ति र आफूबिरुद्ध चलाइएको अपवाहको बिषयमा जानकार रहेको तथ्य राख्नुभयो । ‘मिडियाबाटै थुप्रै सुझाव पाएको र त्यसलाई ग्रहण गरेको’ भन्ने तथ्य राखेर राष्ट्रपति भण्डारीले मुलुकमा के भइरहेको छ, के गर्नुपर्छ भन्ने बिषयमा जानकार रहेको संकेत दिनुभयो ।
पछिल्लो पटक सामाजिक सञ्जालमा अत्यन्तै धेरै आपत्ति जनाइएको पत्नीका हत्यारा पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय माफ भएको र कारले ठोरेर हत्या गर्ने अभियुक्तलाई न्यायाधीशले छाडेको बिषयदेखि प्रकृतिक बिपत्तिको बारेमा मिडियाबाटै आफूले जानकारी पाएको भन्दै उहाँले हरेक घटना नियालिरहेको, सरकारदेखि संबैधानिक निकायलाई सुझाव दिइरहेको बताउनु भयो । उपत्यकामा नाम चलेका अधिकांश मिडियाका सम्पादक र सरकारी सञ्चारमाध्यमका प्रमुखसँग दुई घण्टा बिताउनु भएकी राष्ट्रपति भण्डारीले राख्नुभएको तथ्यले उहाँबिरुद्ध अफवाह फैलाउने काम भइरहेको आशंकालाई पुष्टि गथ्र्यो ।
उहाँको एउटा भनाईले संबिधानले दिएको अधिकार, बाहिर भइरहेको आफूबिरुद्धको प्रचार र मिडियाले निर्वाह गर्नुपर्ने धर्मको बिषयमा संकेत मात्रै दिएन, अति गर्दा खती हुन्छ भन्ने तथ्य पनि थियो । उहाँले आफू पाहाडमा जन्मिएको गरिव किसान घरानाको छोरी भन्न रुचाउने भन्दै बागमतिको प्रसंग ल्याएर भन्नुभयो, ‘बागमति सफाइको अभियानको क्रममा मैले भनेको थिएँ, बोल्नेहरुले नबोल्नेमाथि थिचोमिचो नगरौं, संबैधानिक राष्ट्रपतिको रुपमा मैले तपाईंहरु सवैसँग भन्ने यही नै हो, अहिले पनि भन्छु, बोल्नेहरुले नबोल्नेमाथि थिचोमिचो नगरौं । यस्तो गर्दा आफ्नै बिपत्ति निम्त्याउँछ ।’
राष्ट्रपति भण्डारीको यस भनाईलाई सही अर्थमा बुझ्नेले निश्कर्ष निकाले, ‘संबैधानिक राष्ट्रपति बोल्न मिल्दैन भनेर जथाभावी अफवाह फैलाउने काम नगरौं, तथ्यबाहिर गएर कुण्ठा नपोखौं, राष्ट्रपति बोल्न मिल्दैन भनेर आक्षेपबाट थिचोमिचो नगरौं ।’
प्रतिक्रिया दिनुहोस्