जनता टाइम्स

१० श्रावण २०७७, शनिबार ०९:०९

अव जोखिम सतर्कतासँगै आर्थिक गतिविधि


काठमाडौं, साउन १० । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पुर्याउन सरकार प्रयाशरत रहेको प्रष्ट पार्नुभएको छ ।

चलचित्र विकास बोर्डको शुक्रबार निरीक्षणका क्रममा मन्त्री खतिवडाले यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘स्वास्थ्य जोखिम कम भएर बन्दाबन्दी खुला गरिएको होइन, त्यसैले अव स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गर्ने कार्यमा सचेत रहनुपर्छ,’ मन्त्री खतिवडाले भन्नुभयो । उहाँले कोरोनापछि भोकको समस्या सँगसँगै आउने स्थिति भएपछि कोरोनाबाट सतर्क हुँदै आर्थिक गतिविधि सक्रिय पार्नुपर्ने अवस्था आएको धारणा पनि राख्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका खतिवडाले कोरोना सङ्क्रमणबाट जीवन रक्षा गर्न चालिएको बन्दाबन्दीको कदमबाट अर्थतन्त्रमा ठूलो असर परेको बताउनुभयो ।

उहाँले चलचित्र उद्योगलाई पनि बिस्तारै चलायमान बनाउँदै लैजाने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड, भौतिक दूरी कायम राख्दै चलचित्र छायाङ्कन र प्रदर्शन गर्ने विषयमा छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो । उहाँले राष्ट्र निर्माणको अभिन्न अङ्गका रूपमा सरकारले चलचित्र उद्योगलाई लिएको र त्यही अनुसार नै बजेटमा प्राथमिकता दिएको चर्चा गर्नुभयो । कोरोना प्रभावितका रूपमा अन्य उद्योग व्यवसायले पाएजस्तै चलचित्र क्षेत्रले पनि सहुलियत पाउने नै छ । यो विषयललाई मौद्रिक नीतिले समेत सम्बोधन गरेको छ, उहाँले भन्नुभयो ।

चलचित्र विकास बोर्डले पुराना चलचित्र ‘डिजिटाइज’ गर्न थालेकोमा प्रशंसा गर्दै उहाँले यस्तो कार्यले इतिहास सुरक्षित राख्न मद्दत पुग्ने बताउनुभयो । मन्त्री खतिवडाले कोरोनाका कारण पूर्वनिर्धारित अन्य गतिविधि गर्न नसकिए पनि नीतिगत निर्णय गर्न आवश्यक तयारीमा लाग्न बोर्ड पदाधिकारीलाई सुझाव दिनुभयो । उहाँले असोज सम्ममा सामान्य अवस्थामा फर्कन सकिन्छ कि भन्ने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्रको लगानी सुरक्षित गर्ने विषयमा सरकार गम्भीर भएको बताउनुभयो ।

चलचित्रका माध्यमबाट मनोरञ्जनका साथसाथै परिवर्तन, विकास, सुमार्गको सन्देश प्रवाह हुने उहाँले बताउनुभयो । त्यस अवसरमा चलचित्र विकास बोर्डका गतिविधि तथा प्रस्तुतिका साथै ‘डिजिटाइज’ गरिएका १० नेपाली चलचित्रका झलक देखाइएको थियो । कोरोनाका कारण विकास शुल्क उठ्न नसक्दा चलचित्र विकास बोर्डका नियमित कार्यक्रमसमेत प्रभावित भएको जनाइएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन विकास गर्न आफ्नो सम्पूर्ण समय, क्षमता र सीप प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा मन्त्री डा. खतिवडाले बोर्डको सङ्ग्रहालय, निर्माणाधीन मिनी हल लगायतको अवलोकन गर्नुभएको थियो ।