जनता टाइम्स

१० श्रावण २०७७, शनिबार ११:२४

यो हो ओली सरकारको कामबाट देखिएको परिणाम : ५६.४ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता


काठमाडौं, साउन १० । अन्तराष्ट्रिय दाताहरुले नेपालसँग गरेको सहायता प्रतिवद्धता बढेको छ । पछिल्लो तथ्यांकअनुसार द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६/७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको हो ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक बर्षवको जेठसम्म सरकारले ऋण तथा अनुदानसमेत गरेर एक खर्ब ९४ अर्ब ४२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ऋण सहायता एक खर्ब ७१ अर्ब र अनुदान सहायता २२ अर्ब र ६६ करोड रुपैयाँ रहेको छ । प्राप्त प्रतिबद्धतामध्ये ऋणको अंश ८८.३ र अनुदानको अंश ११.७ प्रतिशत रहको छ । विश्व बैङ्क र एसियाली विकास बैङ्कलगायत नेपाललाई सहायता उपलब्ध गराउने प्रमुख दातृ निकाय हुन् । चीन, जापान, अमेरिका, भारत, बेलायत, अस्टे«लिया, स्विजरल्यान्ड, जर्मनी, नर्वे, डेनमार्क, फिनल्यान्ड नेपालका प्रमुख द्विपक्षीय दातृ राष्ट्र साझेदार हुन् ।

अर्थ मन्त्रालयले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार सरकारको वित्तीय स्रोतमा राजस्व र विप्रेषणपछि वैदेशिक सहायता तेस्रो स्थानमा छ । खासगरी विकास आयोजनाका लागि आवश्यक रकम जुटाउन सरकारले यस्ता दातृ निकायबाट ऋण लिने गर्छ । सरकारले पछिल्लो समय विकास सहायताका रूपमा उपलब्ध हुने यस्तो रकम राष्ट्रिय बजेटरी प्रणालीमार्फत नै खर्च गर्नेगरी प्रक्रिया सुरु गरिसकेको छ । सरकारले प्राविधिक सहायताका रूपमा पनि वैदेशिक सहायता प्राप्त गर्दै आएको छ । यद्यपि कतिपय अनुदान सम्झौतामा दातृ निकायले प्राविधिक सहायतासमेत समावेश गर्दै आएका छन् ।

सरकारले दातृ निकायबाट यसरी लिएको तिर्न बाँकी ऋण जेठसम्म सात खर्ब १८ अर्ब ५३ करोड रुपियाँ पुगेको छ । यसमध्ये गत आवको समीक्षा अवधिसम्म १६ अर्ब ५२ करोड रुपियाँ सावाँ र तीन अर्ब ५६ करोड रुपियाँ ब्याज भुक्तानी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बिशेषगरी सडक पूर्वाधार, विद्युत् प्रसारण, विमानस्थल निर्माण, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, पोषण जस्ता क्षेत्रमा वैदेशिक ऋण सहायता प्राप्त गर्दै आएको छ ।

पछिल्लो पटक मात्रै कोभिड–१९ पछिको अर्थतन्त्रलाई बढावा दिन विश्व बैङ्कसँग करिब ५४ अर्ब रुपियाँको सडक सहयोग आयोजनामा ऋण सम्झौता गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा समर्थन गर्दै दाताहरुले आफ्नो सहायता बढाएका हुन ।