जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १२:०३

संक्रमित लुकाएको परिणाम : ४ नर्सलाई पनि कोरोना


काठमाडौं, साउन १२

कोरोना संक्रमण देखिएका चिकित्सकलाई २ दिनसम्म लुकाएर राखेको विराटनगर अस्पताल प्रालि. (विराट नर्सिङ होम) मा कार्यरत ४ जना नर्समा पनि कोरोना संक्रमण देखिएको छ । गत मंगलबार कोरोना संक्रमण देखिएका अस्पतालकै ६५ वर्षीय चिकित्सकको कन्ट्याक्ट ट्रेसिङ पछ्याउन क्रममा अस्पतालका नर्समा पनि कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

चिकित्सकको कोरोना संक्रमण रहेको पुष्टि भए पनि दुई दिनसम्म सम्पर्कबिहीन भएर विराट नर्सिङ होम रहेको खुलेको थियो । त्यसपछि अस्पतालका ५८ जनाको स्वाब संकलन गरेकोमा ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगरले जनाएको छ ।

२१ वर्षीया, ३० वर्षीया, ३१ वर्षीया र ५६ वर्षीया नर्समा संक्रमण पुष्टि भएको जनाइएको छ । एक नर्स भने विराट नर्सिङ होमका अलवा कोशी अस्पतालमा पनि काम गर्ने गरेको महाशाखा प्रमुख कार्कीले जनाउनुभयो । कोरोना संक्रमण देखिएका चिकित्सकलाई भने काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।