जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार ०९:२८

रुकुम पश्चिम पहिरोले घर बगाउँदा दुई जना बेपत्ता


काठमाडौं,  साउन १३ ।   रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । चार जनाको उद्धार गरिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाउँदा छिमेकी २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनार सम्पर्कविहीन भएका हुन् ।

हस्तबहादुरकी आमा ६० वर्षकी झुपी र श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको उद्धार गरिएको हो । अहिले हराएकाहरुको खोजी भइरहेको छ ।

राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।