जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १०:२१

उपत्यकामा लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको विषय – चिकित्सक


काठमाडौँ, साउन १४ । राजधानीमा दिनप्रतिदिन ठुलो संख्या नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा मंगलवार ६१ जनामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यति मात्र होइन, थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइ जनामा लक्षणसमेत देखिएको अस्पताल स्रोतले बताएको छ ।

राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १५ जनामा लक्षण देखिएको छ । उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत ३२ जना प्रहरीमा मंगलबार संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरूमा संक्रमण रहेको पत्ता लागेको हो । संक्रमित प्रहरी प्रधान कार्यालयभित्रै बस्ने गरेको उल्लेख गर्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भन्नुभयो ‘केही दिनअघि हेड कन्सटेबललाई कोरोना देखिएको थियो, त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जनालाई देखिएको थियो । प्रहरीलाई त्यहीँ भित्रैबाट कोरोना सरेको देखिएको छ ।’

राजधानीमा कोरोना पुष्टि भएकामा दुई चिनियाँ नागरिकसमेत छन् । मंगलबार कोरोना पोजिटिभ देखिएका एक चिनियाँ नागरिक ठमेलको होटलमा बस्दै आएका थिए भने अर्का बौद्घमा घर भाडा लिएर बसिरहेका थिए ।

न्युरोड क्षेत्रका २ जना व्यापारीमा समेत संक्रमण देखिएको छ । यस्तै बैतडी, नुवाकोट, बुटवल, वीरगन्ज, सर्लाहीबाट कामको सिलसिलामा राजधानी आएका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा उपचाररत एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । ‘प्रहरी, बिरामी, व्यापारी, चिनियाँ नागरिक, राजधानी बाहिरबाट आएका बाहेक अरूमा पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पाइएको छ,’ कोइरालाले बताउनुभयो । उहाँका अनुसार नयाँ संक्रमितमध्ये ५९ जना काठमाडौंका र भक्तपुर एवं ललितपुरका एक–एक जना छन् ।

संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने चेतावनी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले दिनुभयो  । उहाँ भन्नु हुन्छ ‘समुदायमा कोरोना संक्रमण फैलिए जो मर्छ, मरोस्, जो बाँच्छ, बाँचोस् भनेर छाड्नु वा कडा लकडाउन, कर्फ्यु लगाउनुको विकल्प रहँदैन,’, ‘लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको अवस्था हो ।’ विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।