जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १५:३४

कांग्रेसमा बढ्यो लफडा : पाँच बुँदे असहमति पत्र बुझाउन आएका पौडेल पक्षलाई देउवाले दिए उल्टै यस्तो धम्की


काठमाडौं, साउन १५ । आगामी फागुनमा महाधिवेशन तोकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको तयारी भन्दा थप लफडा सुरु भएको छ । महाधिवेशन मिति तोकेपछि सभापति शेरबहादुर देउवाले जथाभावी मनोनयन गर्न थालेपछि कांग्रेसमा लफडा देखिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका ५ वटा विषयमा सभापति देउवालाई भेटरै असहमति जनाएपछि सो पार्टीभित्रको बिवाद छताछुल्ल भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले सभापति देउवालाई बिहीबार बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र मनोनयन रोक्नुपर्ने, क्रियाशील सदस्यता वितरणमा पारदर्शी बनाउनु पर्ने, अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरुलाई पद विभाजन गर्दा केन्द्रीय कार्यसमितिबाट मात्रै निर्णय लिनुपर्ने, विदेशस्थित जनसम्पर्क समितिका विवादहरुलाई निष्पक्ष रुपमा हल गनुपर्नेलगायतका विषय रहेका छन ।

‘यी विषयमा हामीले सभापतिलाई औपचारिक रुपमा लिखित ध्यानाकर्षण गराएका छौं, निर्वाचनलाई निष्पक्ष र विश्वासयोग्य बनाउनका लागि कुराकानी भएको छ, यसलाई टुंगोमा पुर्याउन हामी लाग्नेछौं,’ कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले भन्नुभयो । देउवासँगको छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक गर्ने वातवरण निर्माणका लागि पार्टीका केन्द्रीय विभाग र निकायमा भइरहेका मनोनयन तत्काल रोक्नुपर्ने अडान राख्नुभएको भण्डारीले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय महाधिवेशनसहित तल्ला तहका अधिवेशनहरुको तिथि घोषणा भइसकेपछि विभागमा संयोजक तोक्ने, सदस्यहरु मनोनयन गर्ने र पार्टीका अन्य निकाय समेत गठन गर्ने काम भइरहेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै आएको थियो ।

यसअघि पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले लिखित रुपमै सभापति देउवाको कदमबिरुद्ध विरोध जनाउनु भएको थियो । आजको भेटमा सभापति देउवाले पौडेल पक्षको कुरा सुन्नु भन्दा उल्टै धम्क्याएर पठाउनु भएको छ । विभाग गठन र मनोनयनमा विषयमा पौडेल पक्षले उठाएको मागमा सहमति नजनाई देउवाले धम्की दिनुभएको हो । ‘आफ्नै खुट्टामा बन्चरो नहान्नुस,’ पौडेल पक्षलाई देउवाको चेतावनी थियो ।

सभापति देउवालाई पत्र बुझाउन बरिष्ठ नेता पौडेल पक्षबाट केन्द्रीय सदस्यहरु डा. रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सरिता प्रसाईं र जीवन परियार सहभागी हुनुहुन्थ्यो । देउवाले पनि उपसभापतिद्वय, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णवहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रवहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतलाई राख्नुभएको थियो । दुवै पक्ष अडानमा रहेपछि कांग्रेसभित्रको बिवाद झनै बढेको एक नेताले जनताटाइम्सलाई बताए । ‘महाधिवेशन तयारीतिर होइन, अव एक अर्काबिरुद्ध लाग्ने अवस्था देखियो, सभापति र पौडेल पक्ष दुवै एक अर्काबिरुद्ध खनिने अवस्था आयो,’ ती नेताले भने ।