जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १०:२८

प्रचण्डलाई पूर्वमाओवादीतर्फका पाँच नेताको बटमलाइन : समिकरण त्याग्नोस, ओलीसँग मिलेर अघि बढनोस


काठमाडौं, साउन १६ । सत्तारुढ नेकपाको स्थायी कमिटीमा रहेका पूर्वमाओवादी पक्षधर पाँच नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहकार्यमै जोड दिनुभएको छ । बिहीवार राती अध्यक्ष प्रचण्डसँगको छलफलमा नेताहरुले प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढनुको बिकल्प नरहेको आफूहरुको निश्कर्ष पनि अध्यक्ष प्रचण्डलाई सनाउनु भएको हो ।

अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा बिहीवार पूर्वमाओवादी पक्षधर पाँच जना स्थायी कमिटी सदस्यहरूसँग टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल र जनार्दन शर्मासँग छलफल गर्नुभएको हो । स्थायी कमिटी सदस्य शर्माको संयोजनमा भएको छलफलमा पाँचै जना नेताले अध्यक्ष ओलीसँग मिलेर जान र पूर्वएमालेको असन्तुष्टिमा खेलेर गुटबन्दी नगर्न सुझाउनु भएको एक नेताले जनताटाइम्सलाई जानकारी दिए । गुटबन्दीमा लागेको भन्दै प्रचण्डसँग असन्तुष्ट अर्का नेता लेखराज भट्टले सार्वजनिक रुपमै ओलीको बिकल्प नभएको बताइसक्नु भएको छ ।

बिहीवारको छलफलमा पाँचै नेताले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न सुझाव दिएको ती नेताको भनाई छ । महाधिवेशन सम्म वरिष्ठ नेता माधव नेपालसँगको समिकरण भन्दा प्रधानमन्त्री ओलीसँग नै मिलेर अगाडि बढ्नुपर्छ, यो भन्दा दाँयाबाँया गर्न मिल्दैन, आफ्नो निश्कर्ष सुनाउँदै पाँचै नेताको भनाई थियो ।

नेताहरुले अहिलेको अवस्थामा समिकरण बनाउनमा भन्दा पनि पार्टी एकतामा ध्यान दिन जरुरी रहेको धारणा राखेका थिए । समस्या समिकरणतिर लागेर भएको हो, समिकरण होइन, दुई अध्यक्षबीचको सहमति हो, यो काम गर्नाेस हाम्रो साथ रहन्छ, प्रचण्डलाई पाँचै जना नेताको भनाई थियो । स्थायी कमिटी सदस्यहरुको भेटमा अध्यक्ष प्रचण्डले मुख्य कमजोरी आफ्नो नभई ओलीको भएको भन्दै पूर्वमाओवादीहरु एक ठाउँमा हुनुपर्ने बताउनु भएको थियो । तर नेताहरुले सो भनाई गलत रहेको भन्दै अस्वीकार गरेको ती नेताको भनाई छ ।