जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १८:३७

सेनाले जिम्मा लिएको तीन बिकाश आयोजनामा शतप्रतिशत प्रगति, अन्यमा यस्तो छ निर्माण अवस्था


काठमाडौं, साउन १६ । नेपाली सेनाले जिम्मा लिएको बिकाश आयोजनाहरुमा उल्लेखनीय प्रगति देखिएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज रक्षा मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा यस्तो तथ्यांक पेश गरिएको हो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालय¸ नेपाली सेना र सो मातहतका विभिन्न निकायहरूबाट सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको गत आर्थिक वर्षको समग्र वित्तीय तथा भौतिक प्रगति¸ आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने मुख्य विषयहरू तथा राष्ट्रिय विकास समस्या समाधान समितिको पछिल्ला तीन वटा बैठकहरूबाट भएका निर्णयहरूको कार्यान्वयन स्थिति सम्बन्धमा विस्तृत छलफल भएको थियो ।

समीक्षामा नेपाली सेना अन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूमध्ये बंकरदेखि ब्यारेक कार्यक्रम, काली गण्डकी कोरिडोर र बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति १०० प्रतिशत, कर्णाली कोरिडोर सडक निर्माण आयोजना र दार्चुला-घाँटीबगर गोरेटो सडक निर्माणको प्रगति ८० प्रतिशत भन्दा बढी रहेको जानकारी प्रस्तुत भएको थियो । समीक्षामा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित काठमाण्डौं(तराईरमधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति कोभिड १९ लगायतको कारण केही कम हुन पुगेको भए तापनि गत वर्ष द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भई तदनुसार एकीकृत योजना तयार हुनु, आयोजनाको ड्रइङ्ग डिजाइनिङ्ग, सुपरभिजन लगायतका कार्यका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनौट भई निजले कार्य प्रारम्भ गर्न थाल्नु जस्ता कार्यले चालु आ.व. देखि आयोजना निर्माणको कामले गति लिने जानकारी छलफलका क्रममा सम्बन्धित पदाधिकारीहरूले राख्नुभएको थियो ।

समीक्षामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि जग्गा प्राप्ति तथा गठन आदेश स्वीकृति लगायतका महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएको व्यहोरा प्रस्तुत भएको थियो । साथै, समीक्षा अवधिमा राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको कार्ययोजना स्वीकृत हुनुका साथै सेनासम्बन्धी केही महत्त्वपूर्ण नियमावलीहरूमा संशोधनरपरिमार्जन गर्ने कार्य सम्पन्न भएको व्यहोरा प्रस्तुत भएको थियो । समीक्षामा नेपाली सेनाबाट कोभिड १९ रोगको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा भएका कार्यहरू, नागरिक सैनिक सम्बन्ध, सहयोग र सहकार्यका क्षेत्रमा हासिल भएका उपलब्धिहरूका साथै नेपाली सेनाको कल्याणकारी कोषबाट भए गरेका प्रमुख कार्यहरूबारे पनि छलफल भएको थियो । समीक्षामा गत आर्थिक वर्षमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट पूँजीगत खर्चतर्फ करिब ७८ प्रतिशत र बेरुजु फर्छ्यौटतर्फ ६९.३ प्रतिशत प्रगति हासिल भएको तथ्य प्रस्तुत भएको थियो ।

समीक्षा बैठकमा उपप्रधानमन्त्री पोखरेलले विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्दा अन्तर मन्त्रालय र अन्तर निकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै गुणस्तरीय ढङ्गले कार्यक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो । निर्देशनका क्रममा उहाँले काठमाण्डौं(तराईरमधेश द्रुतमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजना¸ विभिन्न सडक करिडोरको निर्माण तथा नेपाली सेनाको ब्यारेकदेखि बंकर कार्यक्रमलाई निर्धारित समयमै सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन तथा सेनालाई आवश्यक भौतिक साधन सम्पन्न तुल्याउन सम्बन्धित सबै निकायले आ(आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र योगदान गर्न आवश्यक रहेको कुरा औँल्याउनु भएको रक्षा मन्त्रालयका सहप्रवक्ता तथा उपसचिव मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

सोही अवसरमा उपप्रधानमन्त्री पोखरेल र सचिव रेश्मिराज पाण्डेबीच मन्त्रालयले चालु आ.व. २०७७/७८ मा कार्यान्वयन गर्ने कार्यक्रमहरू तथा रक्षा मन्त्रालयका सचिव पाण्डे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच जंगी अड्डाले चालु आ.व.मा सञ्चालन गर्ने कार्यक्रमहरू सम्बन्धमा विभिन्न अनुगमन सूचक र परिमाणात्मक लक्ष्यहरू तोकी कार्य सम्पादन सम्झौता समेत भएको थियो । साथै¸ कार्यक्रमको दौरान उपप्रधानमन्त्रीले उहाँ र रक्षा मन्त्रालयका सचिव तथा रक्षा मन्त्रालयका सचिव र नेपाली सेनाका प्रधान सेनापतिबीच आज भएको कार्यसम्पादन सम्झौता पत्रमा उल्लेख भएबमोजिम निर्धारित लक्ष्य र सूचकहरू हासिल गर्नेतर्फ प्रतिबद्ध भएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले समग्रमा रक्षा मन्त्रालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहेको कुरा ‌औँल्याउँदै राष्ट्रिय गौरवको आयोजना तथा राष्ट्रिय महत्त्वका सडक कोरिडरहरूको निर्माणलाई समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षबीच समन्वय सुदृढ बनाई काम गर्न आवश्यक रहेको कुरा बताउनुभयो । साथै¸ उहाँले राष्ट्रिय महत्त्वका सडक करिडोरहरू निर्माणका लागि आगामी दिनहरूमा पर्याप्त बजेट विनियोजन गर्नेतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिन आवश्यक रहेको कुराबताउनु भयो ।

कार्यक्रममा प्रधानसेनापति थापाले कोभिड १९ रोगको संक्रमण नियन्त्रण गर्न लगाउनु परेको लकडाउन लगायतको कारणले केही कार्यक्रमको सन्दर्भमा कम प्रगति देखिएता पनि समग्रमा नेपाली सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको प्रगति उल्लेखनीय र सन्तोषजनक रहेको कुरा मन्तव्यका क्रममा राख्नुभयो । कार्यक्रम कार्यान्वयनका सन्दर्भमा सम्बन्धित सबै मन्त्रालय, निकायबाट भएको सहयोगका लागि धन्यवाद दिनुहुँदै उहाँले नेपाली सेना अन्तर्गत असुल गर्नुपर्ने बेरुजु अत्यन्त न्यून रहेको विषयमा समेत स्पष्ट पार्नुभयो । साथै, रक्षा मन्त्रालयका सचिव र उहाँबीच सम्पन्न कार्य सम्पादन सम्झौता बमोजिम चालु आ।व।मा नेपाली सेनाबाट सञ्चालन गर्न निर्धारित कार्यक्रमहरू लक्ष्यबमोजिम सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डेले कोभिड १९ महामारीका बाबजुद मन्त्रालय र अन्तर्गत निकायहरूबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको समग्र भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको भए तापनि कतिपय आयोजनाको उपलब्धि अपेक्षानुरूप हुन नसकेको सन्दर्भमा चालु आ।व।मा लक्ष्य अनुरूप प्रगति हासिल हुने गरी तदारुकताका साथ कार्य गर्न सम्बन्धित विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । यसक्रममा उहाँले खासगरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाण्डौ(तराईरमधेश द्रुतमार्ग सडक आयोजना लगायत नेपाली सेनालाई जिम्मेवारी प्राप्त नयाँ सडक मार्गको निर्माणलाई द्रुत गतिमा अघि बढाई राष्ट्रिय विकासमा टेवा पुर्यावउन आवश्यक रहेको खाँचो औँल्याउनु भएको थियो ।

उहाँले नेपाली सेनाबाट संचालित पुनर्निर्माण र सडक करिडोरको निर्माण लगायतका कार्यक्रमका लागि सम्बन्धित निकायहरूले आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजनका साथै अख्तियारी समेत समयमै प्रदान गर्न सके यसबाट नेपाली सेनाले जिम्मेवारी पाएको कामलाई लक्ष्यअनुसार समयमै सम्पन्न गर्न सहज हुने विचार व्यक्त गर्नुभयो ।अन्त्यमा, माननीय उप्रधानमन्त्री तथा रक्षा मन्त्री र आफूबीच आज सम्पन्न कार्य सम्पादन सम्झौताबमोजिम कार्य सम्पन्न गरी लक्षित नतिजालाई समयमै हासिल गर्न आफ्नो तर्फबाट पूर्ण प्रयास गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । समीक्षा बैठकको प्रारम्भमा मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको उद्देश्य सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग¸ अर्थ मन्त्रालय¸ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका प्रतिनिधिहरूलेआ(आफ्नो मन्तव्य राख्नुभएको थियो । बैठकमा मन्त्रालयका कर्मचारीहरूका साथै कार्यक्रम कार्यान्वयनसँग सम्बद्ध विभिन्न मन्त्रालयरनिकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।