जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार ०८:३६

धनगढी विमानस्थल संचालनमा आउन थप समय लाग्ने


धनगढी ।

धनगढी विमानस्थल स्तरोन्नतिको काम करिब ३० प्रतिशत पूरा भएको छ । जेठ २१ गतेभित्रै उडान सुचारु गर्ने गरी स्तरोन्नति भइरहेको जनाइए पनि काम सम्पन्न गर्न थप समय लाग्न सक्ने बताइएको छ । गत वैशाख २२ गतेबाट विमानस्थलमा धावनमार्ग पार्किङ स्थल स्तरोन्नति कार्य थालिएको थियो । त्यसयता धनगढी विमानस्थलमा सबै उडान स्थगित छन् ।

भनिएकै समयमा उडान सुचारु गर्ने गरी काम थाले पनि धावनमार्गमा खनिएको खाल्डोमा दलदल भएको कारण अलिकति समस्या आएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो । ‘धावनको पूर्वतर्फ खनिएको खाल्डोमा दलदल भएको कालो माटो निस्केका कारण दुई÷चार दिन ढिला हुनसक्छ’, काठमाडौँमा रहनुभएका उहाँले भन्नुभयो, ‘तर, भनिएको समयमै उडान सुचारु गर्ने हामीले प्रयास गरिरहेका छौँ ।’ अझै आठ दिन जति बाँकी रहेकाले यो समयमा धेरै काम गर्न सकिने बुढथापाले बताउनुभयो । अहिलेसम्म ३० प्रतिशतभन्दा बढी काम भएको छैन, उहाँले भन्नुभयो ।

प्राधिकरणका तर्फबाट कन्सल्टेन्ट रहनुभएका प्राधिकरणका पूर्वइन्जिनियर योगेन्द्रराज शर्माले निर्माण कम्पनीले तदारुकताका साथ काम थाले पनि दलदलका कारण केही ढिलाइ हुनसक्ने बताउनुभयो । उहाँले दलदल भएको माटो फालेर ग्राभेल हाल्नुपर्ने उल्लेख गर्नुभयो । धनगढी विमानस्थलमा उडान स्थगित भएपछि यहाँका स्थानीयले काठमाडाँैंसम्म आउजाउका लागि नेपालगन्ज विमानस्थल प्रयोग गरिरहेका छन् । यसैगरी बसमा पनि यात्रुको चाप बढेको छ ।
धावनमार्गको स्तरोन्नति र आवश्यक अरू कामका लागि लुम्बिनी÷कोसी एन्ड न्यौपाने÷खड्का कृष्ण जेभीलाई ठेक्का दिइएको छ । १७ करोड १८ लाख रुपियाँ बजेट खर्चेर विमानस्थलको स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।

यसैबीच स्तरोन्नति कार्य भइरहेको धनगढी विमानस्थलको शनिबार प्रदेश सांसदसहितको टोलीले निरीक्षण गरेको छ । सांसदद्वय डा। रणबहादुर रावल, डिल्लीराज पन्त, कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नाटा सुदूरपश्चिम अध्यक्ष मायाप्रकाश भट्टसहितको टोलीले धावनमार्ग र निर्माण भइरहेका अरू संरचनाको अनुगमन गरेको हो ।

निरीक्षणको क्रममा काम सुस्त गतिमा अगाडि बढेको पाइएको सांसद डा। रावलले बताउनुभयो । उहाँले भन्नुभयो, किन ढिलासुस्ती भएको हो, यसको बारेमा प्रदेश संसद्मा कुरा उठाउँछौँ । सुदूरपश्चिम प्रदेशमा उडान नियमित रहेको एकमात्र यो विमानस्थल प्रदेशको ‘लाइफ लाइन’ को रूपमा रहेको छ । एक महिनासम्म उडान स्थगित भएपछि विभिन्न क्षेत्र प्रभावित भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओझाले भनिएको समयमै उडान सुचारु हुनुपर्नेमा जोड दिनुभयो । एक महिनाको लागिमात्रै उडान स्थगित हुँदा थुप्रै क्षेत्र प्रभावित भएको छ, उहाँले भन्नुभयो । धनगढी विमानस्थलमा नेपाल एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्सका जहाजले उडान भर्दै आएका छन् ।