जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १४:१३

सकियो ओली–प्रचण्ड बार्ता : झलनाथ खनाल र सुवास नेम्वाङलाई साँक्षी राखेर दुवै अध्यक्षले खोले मनको कुरा


काठमाडौं, साउन १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ६ पौने दशबजेबाट सुरु भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको बार्ता केहीबेर अघि सकिएको हो ।

नेकपाभित्रको आन्तरिक संघर्ष चरम बिन्दुमा पुगेपछि दुवै अध्यक्ष एकअर्काप्रति निकै आशंका पालेर बस्दा असार १३ गतेयता ओली–प्रचण्डबीच संवाद हुनसकेको थिएन । महासचिव बिष्णु पौडेलको सहजीकरणपछि ओली र प्रचण्डबीच आज पौने चार घण्टा छलफल भएको छ । आजको छलफलमा अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अध्यक्ष प्रचण्डले बरिष्ठ नेता झलनाथ खनाललाई साँक्षीको रुपमा राख्नुभएको छ । आजको छलफल दुई अध्यक्षबीच कायम रहेको आशंका मेटाउनुका साथै सहमतिउन्मुख रहेको एक नेताले जनताटाइम्स डटकमलाई जानकारी दिए । ‘आशंकाहरु दुर भएका छन, सहमतिबाटै निकास खोज्न दुवै अध्यक्ष गम्भीर रहनुभएको पाइयो,’ ती नेताले भने ।

स्रोतका अनुसार आजको छलफलमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले केन्द्रीय कमिटीले महाधिवेशनको मिति तोकिसकेको कारण महाधिवेशनतिरै केन्द्रित भएर समस्याको निकास दिनुपर्ने बताउनु भएको छ । गत माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५–३० मा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । नेकपाभित्र बिवाद बढदै जाँदा अध्यक्ष ओली र प्रचण्डबीच आगामी मंसिरमै एकता महाधिवेशन गर्ने सहमति पनि भएको थियो । सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा अर्लि महाधिवेशन गर्ने प्रस्तावमा सचिवालयले सर्वसम्मत निर्णय गरेपनि त्यसबाट अध्यक्ष प्रचण्ड पछि हटेपछि दुई अध्यक्ष आमने सामने देखिनुभएको हो ।

आजको छलफलमा केन्द्रीय कमिटीले मिति तोकिसकेको र सचिवालयमा समेत सर्वसम्मत महाधिवेशनमा जाने निर्णय भएकोले सोही आधारमा दुवै अध्यक्षको तर्फबाट सचिवालय बैठकमा प्रस्ताव लैजाने र सचिवालयबाट निर्णय गराई स्थायी कमिटीमा अनुमोदन गर्नुपर्ने धारणा अध्यक्ष ओलीले राख्नुभएको छ । अर्का अध्यक्ष प्रचण्डले पनि महाधिवेशनबाट आफू भाग्न नखोजेको भन्दै थप छलफल गरी ठोश धारणा बनाउनु पर्ने जानकारी दिनुभएको स्रोतले बतायो । आजबाट अध्यक्षद्वयबीच पुनः छलफल अघि बढेको भन्दै निकास आउने संकेत बार्तामा साँक्षी रहेका दुवै नेताले गर्नुभएको छ । दुवै नेताले आफू निकटसँग आजको छलफल सकारात्मक रहेको र अर्काे छलफलमा निश्कर्ष आउन सक्ने संकेत गर्नुभएको हो ।

‘महाधिवेशन र उपाध्यक्ष बामदेव गौतमले राख्नुभएको सहमतिको प्रस्तावअनुसार नै नेकपाको बिवाद समाधान गर्ने दिशातिर दुवै अध्यक्ष जानुभएको छ, अध्यक्ष प्रचण्ड पनि बामदेव कमरेडको प्रस्ताव गलत छैन भन्ने निश्कर्षमा पुग्नुभएको देखियो,’ बार्तामा भएको निश्कर्ष सुनाउँदै स्रोतले जनताटाइम्ससँग भन्यो । स्थायी कमिटी बैठक स्थगित गर्ने र सञ्चालन गर्ने बिषयको बिवादले साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन ।

महाधिवेशन र उपाध्यक्ष बामदेव गौतमले राख्नुभएको सहमतिको प्रस्तावअनुसार नै नेकपाको बिवाद समाधान गर्ने दिशातिर दुवै अध्यक्ष जानुभएको छ, अध्यक्ष प्रचण्ड पनि बामदेव कमरेडको प्रस्ताव गलत छैन भन्ने निश्कर्षमा पुग्नुभएको देखियो

यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई र जनार्दन शर्माले भुमिका खेल्नुभएको थियो भने टोपबहादुुर रायमाझी, मणि थापालगायतका नेताहरुले पनि दुवै अध्यक्षलाई महाधिवेशन र उपाध्यक्ष गौतमको प्रस्तावमा आधारमा निकास दिनुपर्ने सुझाव दिनुभएको थियो ।

स्थायी कमिटीका बहुमत सदस्यहरुको सोही दवावका आधारमा महाधिवेशन र उपाध्यक्ष गौतमको प्रस्ताव निकासको रुपमा अघि बढेको हो । ती नेताका अनुसार आज अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले खनाल र नेम्वाङलाई साँक्षी राखेर आफूभित्र रहेको आशंकासहित मनका कुरा खोल्नुभएको छ ।