जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १०:१८

वृद्ध जोडीमाथी घर भित्रै आक्रमण, वृद्धाको मृत्य, दुई गम्भिर घाइते


दार्चुला

महाकाली नगरपालिका ३ काटैकी करिब ७० वर्षीया वृद्धा आफ्नै घरभित्र मृत भेटिएकी छन् । रातिसँगै सुतिरहेका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ ।

स्थानीय राजेन्द्रप्रसाद जोशीका अनुसार ७० वर्षीया द्रोपती महरा घरमा मृत अवस्थामा भेटिएकी र उनका ७५ वर्षीय श्रीमान् वीरभान महरा र १४ वर्षीय नाति लोकेश घाइते अवस्थामा घरभित्रै भेटिएका छन्।

सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिनुभयो । खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो ।

घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

बिहान अबेरसम्म घरको आधा ढोका मात्रै खुला देखेपछि स्थानीयले घरभित्र हेर्दा वृद्धा मृत अवस्थामा रहेकी र बृद्धाका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएका जोशीले बताए। अहिले घटनास्थलमा प्रहरी पुगेर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगेको जोशीले जानकारी दिए।