जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १७:३७

भारतीय गृहमन्त्री अतिम शाहलाई कोरोना संक्रमण : उत्तर प्रदेशका एक मन्त्रीको कोरोनाबाटै मृत्यू


नयाँदिल्ली, साउन १८ । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । गृहमन्त्री शाहले आज आफै आफूलाई कोरोना पोजेटिभ पाइएको जानकारी दिनुभएको हो ।

आज दिउसो ट्विट गर्दै गृहमन्त्री शाहले आफूलाई कोरोनाको संक्रमण भएको सार्वजनिक जानकारी दिनुभएको थियो । ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ गृहमन्त्री शाहले ट्विटमा भन्नुभएको छ, ‘मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला ।’

शाह भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुनुहुन्छ । यसअघि आजै उत्तर प्रदेशकी एक जना मन्त्रीले कोरोनाभाइरसका कारण ज्यान गुमाउनु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री ६२ वर्षीया कमला रानीको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । उहाँलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो । लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचाररत उहाँको आज मृत्यु भएको हो ।

पछिल्लो समय भारत कोरोना ह वबनेको छ । भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृत्यु भइसकेको छ ।