जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १३:२५

लकडाउनविरुद्ध भएको प्रदर्शनमा जर्मनीमा ४५ प्रहरी घाइते


बर्लिन, साउन १९

बर्लिनमा कोरोना भाइरसपछि लगाइएको प्रतिबन्धका विरुद्ध भएको प्रदर्शनमा ४५ प्रहरी अधिकारी घाइते भएका छन् । एक साता लामो भएको प्रदर्शन शनिबार र आइतबार भने अलि उग्र बनेको थियो । घाइते प्रहरीमध्ये तीन जनालाई अस्पताल भर्ना गरिए प्रहरीलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार भएको प्रदर्शनमा १३३ प्रदर्शनकारी समातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी अधिकारीलाई प्रतिरोध गरेको तथा संविधान विरुद्ध गई शान्ति विथोल्न खोजेको आरोपमा उनीहरूलाई समातिएको हो । प्रदर्शनमा करिब २० हजार मानिस सहभागी भएका थिए । ती प्रदर्शनकारीलेसाढे एक मिटरको दूरी कायम गरेको बताइएको छ । तर मास्क भने लगाएका थिएनन् ।

कोरोना कालमा प्रदर्शन गर्न पाइने भएपनि शनिबारको जस्तो प्रदर्शन भने गर्न नहुने स्वास्थ्यमन्त्री जेन्स स्पानले बताउनुभयो । ‘हो, प्रदर्शन कोरोनाको समयमा पनि सम्भव हुनुपर्छ, तर यो तरिका होइन’, उहाँले भन्नुभयो, ‘दूरी, स्वच्छ नियम र मास्कले हामी सबैलाई सुरक्षा गर्छ, त्यसैले हामी सबै एकअर्कालाई सम्मानित व्यवहार गर्छौँ ।’