जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १७:१३

हरिबोल गजुरेलको अडान : ओली पाँच बर्ष नै प्रधानमन्त्री, प्रचण्ड महाधिवेशनबाट अध्यक्ष उपयुक्त निकास


उता गएर सहमति गरेर आउनुहुन्छ, यता अर्कोले एकथोक भनिदिन्छ– ‘धोका दिने, यस्तो गर्ने ? हामीसँग खोई सल्लाह ? तिमीहरुलाई पदका लागि मात्र गरिदिएको हो ? समीकरण बन्यो भने त्यसले नेताको पनि हातखुट्टा बाँधिदिन्छ, प्रचण्डले त्यही गल्ती गर्नुभयो, आफै फस्नुभयो 

काठमाडौं, साउन १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीलाई हटाए नेकपाका नेताहरु जनताको बीचमा जानै नसक्ने ठोकुवा गर्नुभएको छ । नेपालको नक्सा जारी भएपछि भारतीय मिडियाले प्रधानमन्त्री ओलीबिरुद्ध चलाएको अभियानबारे नेपाली जनता जानकार रहेकोले उहाँलाई हटाउँदा नेकपाका कुनै पनि नेताले जनआक्रोशको सामना गर्न नसक्ने गजुरेलले ठोकुवा गर्नुभएको हो ।

‘सरकारले जेठ ५ गते नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि भारतीय पक्षको दबाबसँगै प्रचण्डलगायतका नेताहरु प्रधानमन्त्री फेर्न क्रियाशील हुनुभएको छ । भारतीय मिडियाले त यसलाई प्रचार गरेको गर्यै छ । यस्तो परिस्थितिमा प्रचण्डले प्रधानमन्त्रीको राजीनामाको मुद्दा बोकेर हिँड्दा भोलि कसरी जवाफ दिनुहुन्छ ? जनताको सामना कसरी गर्न सकिन्छ ?,’ गजुरेलले भन्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका नेता गजुरेलले अध्यक्ष ओली पाँच बर्ष नै प्रधानमन्त्री रहेर काम गर्ने र अर्का अध्यक्ष प्रचण्ड महाधिवेशनबाट एकल अध्यक्ष भएर पार्टी सञ्चालन गर्नु नै पार्टीभित्र देखिएको बिवादको उपयुक्त समाधान हुने आफ्नो निश्कर्ष सुनाउनु भयो ।

‘दुई अध्यक्षमध्ये प्रचण्डले पार्टीका तर्फबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीको संरक्षण गर्न भूमिका खेल्ने अनि ओलीले जनमतअनुसार प्रधानमन्त्री भएर पाँच वर्ष भूमिका निर्वाह गर्ने भन्ने कुरा नै उपयुक्त निकास हुनसक्छ,’ गजुरेलले भन्नुभयो, ‘महाधिवेशनको मिति तोकिएकै छ– चैत अन्तिम साता । त्यसलाई अझै अगाडि सार्न पनि सकिन्छ । केपी कमरेडले सरकार चलाउने, अध्यक्ष प्रचण्ड हुने । त्यसो गर्दा एकअर्काको आवश्यकता महसुस हुन्छ । सरकारलाई सफल पार्न प्रचण्ड कमरेडको सहयोग चाहियो । पार्टीलाई सफल पार्न केपी कमरेडको सहयोग चाहियो । आवश्यकताले नै एकता हुन्छ । सहकार्य हुन्छ ।‘

सरकारले जेठ ५ गते नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि भारतीय पक्षको दबाबसँगै प्रचण्डजीलगायतका नेताहरु प्रधानमन्त्री फेर्न क्रियाशील हुनुभएको छ । भारतीय मिडियाले त यसलाई प्रचार गरेको गर्यै छ । यस्तो परिस्थितिमा प्रचण्डले प्रधानमन्त्रीको राजीनामाको मुद्दा बोकेर हिँड्दा भोलि कसरी जवाफ दिनुहुन्छ ?

नेता गजुरेलले संख्याको खेलमा लागेर समीकरण बनाउँदा प्रचण्ड फसेको ठोकुवा पनि गर्नुभयो । ‘मैले पटक–पटक पार्टीभित्र समीकरण नबनाउनुस भन्दा बनाउँदिनँ भन्नुभो । समीकरण बनाएपछि त मान्छेको हातखुट्टा बाँधिइहाल्छ नि,’ गजुरेलले भन्नुभयो, ‘हिजो जस्तै ड्याङ्ङ–ड्याङ्ङ निर्णय गरेर उहाँ राष्ट्रपतिकहाँ जानुभो । उता गएर सहमति गरेर आउनुहुन्छ, यता अर्कोले एकथोक भनिदिन्छ– ‘धोका दिने, यस्तो गर्ने ? हामीसँग खोई सल्लाह ? तिमीहरुलाई पदका लागि मात्र गरिदिएको हो ? समीकरण बन्यो भने त्यसले नेताको पनि हातखुट्टा बाँधिदिन्छ, उहाँले त्यही गल्ती गर्नुभयो, आफै फस्नुभयो ।‘

नेकपाभित्र प्रष्ट बोल्ने अडानका नेता भनेर चिनिने पूर्वमन्त्री गजुरेलले जनताले नै ओलीलाई पाँच बर्ष प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको प्रष्ट पार्नुभयो । ‘हिजो जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको हो नि त– केपी शर्मा ओली प्रधानमन्त्री चलाऊ भनेर । आलोपालो भन्ने जनतालाई थाहा थिएन । जनताबाट अनुमोदन भएर आयो । उहाँले जनअपेक्षा अनुरुप त्यो भूमिका निर्वाह गर्नुपर्यो,’ गजुरेलले भन्नुभयो ।