जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १९:११

सरकारले भन्यो : अव पूर्ण लकडाउन हुन्न, जोखिमको अवस्था हेरेर स्थानीय सरकार र प्रशासनले निर्णय लिन्छ


काठमाडौं, साउन २२ । सरकारले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने प्रष्ट पारेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहनुभएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो ।

‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन,’ मन्त्री खतिवडाले भन्नुभयो । कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने जानकारी उहाँले दिनुभयो । स्थानीय प्रशासनको निर्णयअनुसार केही जिल्लामा लकडाउन भइरहेको छ । ‘जोखिमको अवस्था हेरेर स्थानीय सरकार र प्रशासनले निर्णय लिइरहेको छ, अव पूर्ण लकडाउन हुन्छ कि भनेर त्रसित हुनुपर्ने अवस्था छैन,’ सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता खतिवडाले भन्नुभयो ।

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको जानकारी पनि उहाँले दिनुभयो । कोरोनासँगै बच्दै अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको नीति रहेको पनि उहाँले बताउनु भयो । संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था भने नआईसकेको मन्त्री खतिवडाले बताउनु भयो । जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको उहाँको भनाई छ ।

प्रवक्ता खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत पनि दिनुभएको छ । यस बिषयमा सीसीएमसीको बैठकमा समीक्षा गरेर त्यही अनुसार मन्त्रिपरिषद्ले निर्णय लिने मन्त्री खतिवडाको भनाई छ ।