जनता टाइम्स

२४ श्रावण २०७७, शनिबार ११:२३

पर्सामा फैलिदैछ कोरोना, अर्का एक मेयर पनि संक्रमित


पर्सा, साउन २४

पर्सा जिल्लामा कोरोना भाइरस फैलिन थालेको छ । पहिला विरगन्ज केन्द्रीत देखिएको कोरोनाका संक्रमितहरु विस्तारै अन्य पालिकामा समेत फैलिन थालेका हुन् । नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । यसअघि विरगन्ज महानगरपालिकाका मेयरलाई समेत कोरोना संक्रमण भएको थियो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।