जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार ११:०३

१८ दिनदेखी आइसीयूमा रहेका कोरोना संक्रमितको मृत्यु


जनकपुर, साउन २६

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताउनुभयो । डा सिंहका अनुसार मृतक क्षयरोगले पनि सिकिस्त थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, “मृतकको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताउनुभयो । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । (गोरखापत्र)