जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार ११:५५

भक्तपुरमा एकै परिवारका चारसहित आठ जनालाई कोरोना, समुदायमै संक्रमण फैलिएको आशंका


भक्तपुर, साउन २८ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा एकै परिवारका चारसहित आठ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयलेदिएको तथ्यांकअनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक छोरा गरी चारै जनामा कोरोना संक्रमण भएको पाइएको हो।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका उनीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसअनुसार ४४ वर्षीया आमा, २० र १५ वर्षीया दुई छोरी तथा तीन वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै चाँगुनारायण नपा ७ वागेश्वरीका श्रीमान श्रीमती पनि संक्रमित भएका छन्। यात्रा विवरण नभएका ५४ वर्षीय श्रीमान र ५३ वर्षीया श्रीमतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिनुभयो । यस्तै मध्यपुर थिमि नपा ४ नयाँ ठिमीकी ४८ वर्षीया गृहिणीमा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको पनि यात्रा विवरण नभएको मिजारले जानकारी दिनुभयो। यसको आधारमा भक्तपुरमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

तराईबाट सूर्यविनायक नपा ३ बालकोटस्थित छोराको घरमा आएका ६० वर्षीय बुबामा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो सामान्य लक्षण आएपछि आठैजनाको परीक्षण गरिएको थियो। उक्त परीक्षणको रिपोर्ट मंगलबार आउँदा पोजिटिभ आएको प्रमुख मिजारले बताउनु भयो ।

स्वास्थ्य प्रमुख मिजारका अनुसार अहिले आठैजना आआफ्नो घरमै सेल्फ आइसोलेसनमा बसेका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको छ। स्वस्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ। जसमध्ये ५० जनाले कोरोना जितेर घर फर्किउका छन ।