काठमाडौं, साउन २८
वीर अस्पतालका एक जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको रेडियोलोजी विभागका एक जना आवासीय चिकित्सकलाई कोरोना संक्रमण देखिएको हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बुधबार एक जना आवासीय चिकित्सकलाई कोरोना संक्रमण देखिएको पुष्टी गर्नुभएको छ ।
उहाँले संक्रमण देखिएपछि दुई दिनका लागि रेडियोलोजी विभाग सिल गरिएको समेत जानकारी दिनुभएको छ । यसअघि वीर अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एक जना त्रिवि शिक्षण अस्पताल र एक जना सोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।
यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा कार्यरत एक जना सवारी चालकमा समेत कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिले न्याम्सका एक जना पदाधिकारीको गाडी चलाउने गर्दथे । अस्पतालका कर्मचारी तथा स्टाफहरुलाई एक पछि अर्को गर्दै संक्रमण देखिएपछि वीर अस्पतालको सेवा प्रभावित हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्