जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार ११:५१

ज्वान र बेसार पानी खाए र कोरोना जिते : संघीय संसद सचिवालय प्रवक्ता पाण्डे


काठमाडौं, साउन २९

संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे ६ दिनमा कोरोनाभाइरस संक्रमणमुक्त हुनु भएको छ । २२ साउनमा कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्नु भएको उहाको साउन २८ गते साँझ रिपोर्ट नेगेटिभ आएको हो ।

लगातार तीन दिन ज्वरो आउने, टाउको दुख्ने र पखाला लाग्ने भएपछि जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। तर, त्यसपछि भने कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या पनि नभएको उहाले बताउनु भयो ।

‘मिल्दोजुल्दो लक्षण देखिएर नै परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आयो । तर, त्यसपछि भने कुनै पनि समस्या भएन, पानी धेरै खाएँ, शारीरिक व्यायाम गरेँं’, उहाले भन्नुभयो । औषधिजन्य जडिबुटी, बेसार, ज्वानु हालेको पानी धेरै खाएको पनि उहाले सुनाउनु भयो ।

संसदीय समितिको कामको लागि सांसदहरुको टोलीसँग उहापनि विभिन्न जिल्लाको भ्रमणमा जानु भएको थियो । एउटै टोलीमा रहेका प्रतिनिधिसभाका सांसद प्रदिप यादवलाई पनि कोरोना संक्रमण भएर १२औं दिनमा मंगलबार नेगेटिभ रिपोर्ट आइसकेको छ ।