जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १०:३६

कोरोना संक्रमित दुई चिकित्सकमा गरियो सफलतापूर्वक ‘प्लाज्मा थेरापी’


काठमाडौं, साउन ३०

आईसीयूमा रहेका दुई जना चिकित्सकको त्रिवि शिक्षण अस्पतालमा ‘प्लाज्मा थेरापी’ गरिएको छ । दुवै जनाको स्वास्थ्य अवस्था जटिल भएपछि उपचार पद्धति परिवर्तन गरिएको उपचारमा संलग्न चिकित्सक डा. सनतकुमार दासले जानकारी दिनुभयो ।

बिरामीलाई परीक्षण गर्ने क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेका दुई जना चिकित्सकको अवस्था जटिल हुँदै गएपछि प्लाज्मा थेरापी गरिएको शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ । एकजना वीर अस्पताल काठमाडौँमा कार्यरत चिकित्सक हुनुहुन्छ । अर्को नोबेल मेडिकल कलेज, विराटनगरका हुनुहुन्छ ।

दुवै चिकित्सकको बिहीबार प्लाज्मा थेरापी गरिएको हो । थेरापी गरिएपछि पछिल्लो अवस्था केही घण्टापछि ‘मूल्याङकन’ गरिने चिकित्सक दासले बताउनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. दासले वीर अस्पतालका चिकित्सकलाई ६० प्रतिशत र नोबेलका चिकित्सकलाई ४५ प्रतिशत अक्सिजन दिनुपरेको खुलाउनुभयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल पाँच जना कोभिड–१९ सङ्क्रमित आईसीयूमा उपचाररत छन् । डा. दासले अन्य बिरामीको स्वास्थ्य अवस्था जटिल भ एपनि थेरापी नै गर्नुपर्ने अवस्था नरहेको खुलाउनुभयो ।

त्रिवि शिक्षण अस्पतालमा गत साउन १६ गते पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार पद्धति सुरु भएको हो । विराटनगरका कोभिड–१९ सङ्क्रमित बिरामीलाई पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । उपलब्ध उपचार पद्धतिमा जीवन जोगाउन असहज भएपछि आईसीयूमा रहेका उक्त बिरामीमा प्लाज्मा थेरापी गरेपछि दुई दिनभित्र ७० प्रतिशतले बिरामी निको भएको र चार दिनपछि पूर्ण निको भएका थिए । (गोरखापत्र)