जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार ०६:३६

बार्सिलोनाको बायर्नसंग ८–२ को लज्जास्पद हार


काठमाडौं, साउन ३१ । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सिलोनालाई लज्जास्पद हार चखाएको छ ।

शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । जितसंगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो ।

हारसंगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिताबाट बाहिरिएको छ । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । २८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो । ५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे।

त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो । जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे । ८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए । पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो । बायर्नसंगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ । च्याम्पियन्स लिगबाट समेत बाहिरिएपछि यस सिजन बार्सिलोनाका लागि निकै खराब रह्यो । यस सिजनको बुन्डेसलिगा च्याम्यिन बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।