जनता टाइम्स

१ भाद्र २०७७, सोमबार ११:००

पर्साका मुस्लिम समुदायले देशलाई सिकाएको धार्मिक सहिष्णुताको त्यो उदाहरण


विरगन्ज, भदौ १

पर्सामा आइतवार मुस्लिम समुदायले मिलेर एक व्यक्तिको मृत्युपछि हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिदिएका छन् । मृतक व्यक्ति बेवारिसे नभएपनि कोरोना संक्रमणका बेला आफन्त नै नआएपछि मनकारी मुस्लिम समुदाय मिलेर हिन्दुको परम्पराअनुसार दाहसंस्कार गरिदिएका हुन् ।

केही दिनअघि कोरोना संक्रमण भएर निको भएका थिए वीरगंज महानगरपालिका–१३, शिवनगरका बासिन्दा लालबाबु शाह । अस्पतालको आइसोलेसनमा रहेका उनिमा फेरी स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि शनिबार बयोधा अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो ।

सुगर र प्रेसरका समेत बिरामी शाहको शनिवार राति मृत्यु भएको थियो । मृत्युपश्चात कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपपछि परिवार र आफन्तलाई खबर गरिएको थियो । तर, केही समयपहिला कोरोना पोजेटिभ देखिएका व्यक्तिको मृत्यु भएको खवर सुनेपछि कोही आउन मानेनन् । आफन्त, उनकै वरिपरि रहेको समाज आउन नमानेपछि मुस्लिम समुदायका व्यक्तिहरू मिलेर हिन्दु संस्कार अनुसार नै शाहको आइतवार दाहसंस्कार गरिदिएका हुन् ।

मुस्लिम समुदायलाई हिन्दु संस्कार थाहा नभएपछि उनिहरुले फोनमार्फत केही उपस्थित भएका हिन्दुहरुलाई सोधेर अन्तिम संस्कार गरिदिएको वडाध्यक्ष तुफान अन्सारीले बताउनुभयो । ‘शनिबार राति मृत्यु भएपछि अस्पतालबाट घरमा खबर भएछ, जेठो छोरा क्वारेन्टिनमा छन्, परिवारमा अरू सानो १५–१६ वर्षका छोरा, ज्वाईं र श्रीमती छन् । तर छरछिमेकलाई खबर गर्दा कोही पनि आउन नमानेको खबर आयो’, उहाले भन्नुभयो, ‘त्यसपछि म आफैं घाटमा गएर हिन्दू धर्म मान्ने मान्छेहरूलाई टेलिफोनमा सोधेर दाहसंस्कार अगाडि गर्नुपर्ने काम सकेर दाहसंस्कार गरिदियौं ।’

हिन्दु संस्कार अनुसार मृतकको करियामा बस्नेले कपाल खौरिनु पर्दछ । तर, त्यहा कपाल काट्ने सिप भएको मानिस नभेटिएपछि लास लगेको एम्बुलेन्सका चालकले म गर्न जान्दछु भन्दै खौरिदिएका थिए । ‘कपाल खौरिदिने मान्छे पनि नभएपछि मृतकको शव अस्पतालबाट घाटसम्म पु¥याउने एम्बुलेन्सका चालकले नै म गर्छु भनेर खौरिदिए ।’

दाहसंस्कार गर्ने बेलामा पु¥याउनुपर्ने प्रक्रियाबारे नजिकै रहेको राधेमाईमा गएर आफैंले बुझेको र त्यहाँका व्यक्तिहरूले सहयोग गरेको पनि अन्सारीले जानकारी दिए । मृतक शाह एक प्राइभेट कम्पनीमा मेनेजर पदमा कार्यरत रहेका थिए । टोलका सबैलाई बुझाएर खबर गर्दा पनि कोही नआउनु दुःखद भएको उहाको भनाई छ । (तस्विर सौजन्य : मन्सुर खान)