जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १०:५६

पर्सामा एकैदिन १२५ जनामा कोरोना पुष्टि


विरगन्ज, भदौ २

पछिल्लो पटक कोरोनाको हटस्पट बनेको पर्सामा एकैदिन १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६८ जना र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरी हुन् । संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका हुन् । बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ जना, छपकैयाका ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढका एक र कलैया–६ का एकजनामन संक्रमण देखिएको छ ।

यसैगरी सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको थियो । टेकुको ६८ र नारायणी प्रयोगशालाको ५७ गरी सोमबार मात्र जिल्लामा १२५ जना नयाँ संक्रमित थपिएका छन् ।