जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार ११:२७

कोरोना संक्रमित बढेपछि कास्कीमा निषेधाज्ञा जारी


पोखरा, भदौ २

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कास्कीमा मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । पोखरामा आज विहान एक संक्रमितको समेत मृत्यु भएको थियो ।

जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ । महानगरमा रहेका राजनीतिक दलका नेतादेखि विज्ञले कोरोना नियन्त्रण गर्न ‘कर्फ्यु’ सम्म लगाउनु पर्ने धारणा आइतवारको भेलामा राखेपछि निषेधाज्ञा जारी भएको हो ।

महानगरको सिफारिस अनुसार मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनु भयो ।

नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरूमा समेत रोक लगाइएको छ । कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।