जनता टाइम्स

३ भाद्र २०७७, बुधबार १२:२७

वीरगञ्जमा १०८ जना संक्रमित थपिए, सक्रिय संक्रमित १५०० नाघे


वीरगञ्ज, भदौ ३

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार पाँच सय नाघेको छ । मङ्गलबार पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको राति अबेर आएको रिपोर्टअनुसार नयाँ १०८ जनामा सङ्क्रमण पुष्टि भएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हवार ५८२ पुगेको हो ।

जिल्लामा रहेका सङ्क्रमितहरूमा वीरगञ्जमा बस्ने २० जना भारतीय नागरिक, १०२ जना विभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी, ४६ जना विभिन्न अस्पतालका विभिन्न विभागका कर्मचारी, ७३ जना विभिन्न सुरक्षा निकायमा सुरक्षाकर्मी, छ जना विभिन्न सञ्चारमाध्यमका पत्रकार र ८९ जना कैदीबन्दी तथा थुनुवा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार मङ्गलबार नारायणी अस्पतालको प्रयोगशालाबाट कोरोना सङ्क्रमण पुष्टि भएका १०८ सङ्क्रमितहरूमा सर्वाधिक पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका ९० जना रहेका छन् । मेयरसहित १५ जनामा सङ्क्रमण देखिएपछि उनीहरूको कन्टयाक्ट ट्रेसिङका आधारमा साउन ३१ गते बैरिया बिर्ता र भौराटारमा सङ्कलन गरिएको स्वाबको नमुनालाई पीसीआर परीक्षण गर्दा तीमध्ये ९० जना सङ्क्रमण पुष्टि भएको हो । बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारका मात्र ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नगरपालिकाको वडा नम्बर २ बैरियाविर्ता पिप्राका २० जना, वडा नम्बर ३ नगरदाहाका तीन जना र त्यहीँको स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चार जना र गम्हरियामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालका थप छ जना कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ । सोमबार राति उक्त अस्पतालमा ३० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पर्साकै जीराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का चार जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिनुभयो । वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका १४४ वर्षीय पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै अन्य थपिएका सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका दुइ जना, वडा नम्बर ५, १० , १२ र २५ का एक(एक जना रहेका छन् ।

पर्सामा साउनयता मात्रै एक हजार ४२५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार भदौ २ गते साँझसम्म ३२३ जना सङ्क्रमितहरू उपचारपश्चात निको भई घर फर्किसकेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा मङ्गलबार गरिएको पीसीआर परीक्षणमा बारा जिल्लामा रहेको श्री चण्डी गणका चार नेपाली सेना तथा जिल्लाका विभिन्न स्थानका अन्य चार जना गरी आठ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ वर्षका एक जना युवकमा पनि सङ्क्रमण पुष्टि भएको छ । (गोरखापत्र)