जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार ०९:३६

बुटवलमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको निधन


काठमाडौं, भदौ  ५  । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रेका ६४ वर्षीय पुरुषको निधन भएको छ। उच्च रक्तचापका समेत बिरामी रहेका उनलाई धागो कारखानामा रहेको कोरोना अस्पतालमा ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो ।

भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो । योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।