जनता टाइम्स

७ भाद्र २०७७, आईतवार ११:५७

कोरोना जोखिम अध्ययनका लागि जर्मनीमा कन्सर्ट


बर्लिन, भदौ ७

यस महामारीकाबीच कोरोना भाइरसको जोखिम अध्ययनका लागि जर्मनीमा एकैदिन ३ वटा कन्सर्ट सम्पन्न भएका छन्। शनिबार अनुसन्धानकर्ताले तीन किसिमको व्यवस्थासहित कन्सर्टको आयोजना गरेका हुन्। पहिलो कन्सर्टमा कुनै पनि सुरक्षाको व्यवस्था गरिएको थिएन। सहभागीलाई सामान्य अवस्थामाझैँ बस्न लगाइएको थियो।

त्यस्तै दोस्रो कन्सर्टमा सामान्य सामाजिक दूरी कायम गरिएको थियो। अन्तिम कन्सर्टमा आधा सहभागीको संख्या घटाएर कम्तिमा १.५ मिटरको दूरी कायम गरिएको थियो। बीबीसीका अनुसार करिब १ हजार ५ सय स्वयंसेवक कन्सर्टमा सहभागी भएका थिए। १८ देखि ५० वर्ष उमेरकालाई सहभागी गराइएको थियो।

सबै सहभागीको सहभागी हुनु पहिले कोरोना परीक्षण गरिएको थियो। साथै ट्रयाकिङ प्रणाली जडित मास्क पनि दिइएको थियो। यस्तै सहभागीले कुन भाग वा ठाउँ छुन्छन् भनेर पनि थाहा पाउने यन्त्र जडान गरिएको थियो। अपेक्षाअनुसार सहभागी संख्या कम भए पनि ‘धेरै सन्तुष्टि’ भने मिलेको अनुसन्धान टोलीका प्रमुखले प्रतिक्रिया दिनु भएको छ।

‘तथ्यांक संकलन धेरै राम्रोसँग गरिरहेका छौँ, त्यसैले हामीसँग गुणस्तरीय तथ्यांक छ’, अनुसन्धान प्रमुख डा. स्टेफन मोरिजले भन्नुभयो, ‘मास्क प्रयोग र डिस्इन्फेक्सन केमिकल प्रयोगमा हामी अत्यन्तै सन्तुष्ट छौँ।’ यस्तै डा. मोरिजले यसको नतिजाले कन्सर्ट सञ्चालनमा मद्दत मिल्ने बताउनुभयो।

‘म आशा गर्छु, यसको नतिजाले दर्शकसामु साँच्चिकैको कन्सर्ट चाँडै आयोजना गर्न मद्दत मिल्ने छ’ उहाँले भन्नुभयो। अनुसन्धाताहरूले ‘रिस्टार्ट–१९’ नाम दिइएको कन्सर्ट ‘महामारीका बेला यस्ता कार्यक्रमहरू गर्न सकिन्छ कि हैन भनेर अनुसन्धानका लागि’ गरिएको बताएका छन्। कोरोना फैलने त्रासकै कारण भीडभाड हुने किसिमको कार्यक्रम गर्नमा रोक लगाइएको छ।