जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १५:४४

३६ जना पत्रकार कोरोना संक्रमित भएपछि निःशुल्क परीक्षण गर्न महासंघको माग


काठमाडौं, ८ भदौ

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले पत्रकारको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय पत्रकारको संक्रमित संख्या बढ्दै गएपछि महासंघले सो माग गरेको हो । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ती जारी गर्दै करिब ३६ जना पत्रकार कोरोनाबाट हालसम्म संक्रमित भइसकेको बताउनुभएको छ ।

समाचार संकलनका क्रममा अग्र भागमा खटिने समाचारदाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु बढी कोरोनाबाट संक्रमित देखिएको महासंघले बताएको छ । कोरोना संक्रमण बृद्धि हुँदासमेत पत्रकारले ज्यान जोखिममा राखेर अग्र भागमा खटेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकाले पत्रकारको निःशुल्क कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

‘विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन्’ महासंघकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, कोरोना महामारीको यो बेलामा संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारसँग आग्रह गरेको छ ।

सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेत्ता अपनाउने वातावरण निर्माण गर्न पनि महासंघले आग्रह गरेको छ ।