जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १९:४०

पिसिआर परीक्षण तथा कन्ट्रयाक टे«सिको काम प्रभावकारी बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन


बुटवल, भदौ ८

कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो सम्वाद गर्नुभएको छ । मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि भइरहेका कामबारे जानकारी गराउनुभयो ।

मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन र पिसिआर परीक्षण तथा कन्ट्रयाक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री पोखरेलले बन्दाबन्दी र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र बन्दाबन्दी र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउन आग्रह गर्नुभयो । उहाँले भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न समेत निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिड १९ को उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागतरुपमा भएका काम र समस्या प्रस्तुत गर्नुभयो । साथै तत्काल प्रदेश र सङघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो ।

यस्तो छ निर्देशनका मुख्य बुँदा

  • भारत लगायत जिल्ला वाहिरवाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा वस्ने व्यवस्था पालिकास्तरमा मिलाउने ।
  • परिक्षणको दायरा वढाउने । भिडभाडहुने ठाउ र धेरै घुमफिर गर्ने व्यक्तिहरु पहिचानगरी नमुना परिक्षणलाई तिव्रता दिने । कोभिड १९ को व्यवस्थापनमा संलग्न सबैको समय समयमा परिक्षण गर्ने ।
  • कन्ट्र्याक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने । छिटो रिजल्ट पाउनेगरी प्रयोशालासंग आवश्यक समन्वय गर्ने । भिटिएमको अभाव हुन नदिने । अभावभएमा जिल्ला स्वास्थले खरिदगर्ने व्यवस्था मिलाउने ।
  • जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्नसक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने । व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउने ।
  • एरियावन्दी,निशेधाज्ञा र वन्दावन्दीका सन्दर्भमा विशेष मापदण्ड बनाएर कार्यान्वयन गर्ने । सकेसम्म सामान्य अवस्थामै जनजिवन असहज नहोस् भन्ने कुरा ख्याल गर्ने । यातायात मात्र वन्द गर्दा हुने ठाउमा सोही अनुसार गर्ने ।
  • स्थानिय संचार माध्यमलाई उपयोगगरी जनचेतना फैलाउने । भय र त्रासको वातावरण सिर्जना हुन नदिने । स्वास्थ सुरक्षा मापदण्डको पालनामा जोड दिने । आवश्यकता अनुसार कडाइ समेत गर्ने ।
  • स्वास्थकर्मी र सुरक्षा निकायको मनोवल उच्च बनाइराख्न आवश्यक ध्यान दिने । प्रोत्साहनभत्ता पाउनुपर्ने छुटेको भए प्रकृया अघि वढाउने ।
  • जनप्रतिनिधिहरुसंगको समन्वय र सहकार्यमा जोड दिने ।
  • सिमानाकावाट हुने आउजाउलाई नियन्त्रण गर्ने । दशैको समयमा वाहिरवाट आउनेहरुको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिने ।
  • आपुर्ति व्यवस्थालाई सहज बनाउने र बजार अनुगमनको कामलाई प्राथमिकतामा राख्ने ।
  • आवश्यक स्वास्थ सुरक्षा सामाग्री, एम्वुलेन्स र सववाहनको व्यवस्था चुस्त र दुरुस्त बनाउने ।
  • लक्षण देखिएका विरामीलाई अनिवार्य रुपमा कोरोना विशेष अस्पतालमा पठाउने व्यवस्था मिलाउने ।
  • कोभिड १९संग सम्वन्धित अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने । कोभिड १९ का सर्जिकल केसहरुलाई नेपालगंज मेडिकल कलेजमा पठाउने ।
  • सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आइसोलेसनको व्यवस्था मिलाउने ।
  • विरामीको मनोवल उच्च राख्न विशेष ध्यान दिने । रोगप्रतिरोधी क्षमता वढाउन उचित खानपान र आहारविहरमा जोड दिने ।
  • व्यवस्थापनमा कुनै नयाँ समस्या देखिए प्रदेश सरकारलाई तत्काल जानकारी दिने ।