जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १३:४१

रेडियो चलाउँदै कोरोना संक्रमित


वीरगञ्ज, भदौ ९

वीरगञ्जको एक रेडियो कोरोना संक्रमित कर्मचारीकै भरमा चलिरहेको छ । वीरगञ्ज को नारायणी एफएम १०३.८ मेगाहर्जका ५ जना कर्मचारीमा एकै पटक कोरोना संक्रमण देखियो । भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाको परीक्षण गराउँदा ५ जनामा संक्रमण देखिएको नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभएको छ ।

देवकोटाका अनुसार सहकर्मीमा संक्रमण देखिएपछि केही दिनअघि परीक्षण गदाउँदा रिपोर्ट नेगेटिभ आएको अन्य तीन जना पनि होम क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो । संक्रमित रेडियोकर्मीहरुलाई स्थानीय प्रशासनले कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो । यस्तो अवस्थामा रेडियो नै बन्द गर्नुपर्ने भयो।

तर संक्रमण भएका पाँच जनाले रेडियोमै आइसोलेसन बनाएर बस्ने र रेडियो नियमित सञ्चालन गर्ने निर्णय गरेका थिए । यसअघि १८ साउनमा स्टेशन प्रमुख नै संक्रमित हुनुभएको थियो । उहाँ अहिले उपचारपछि संक्रमण मुक्त हुनुभएको रेडियोका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

उहाँले प्राविधिकलाई पनि संक्रमण देखिएको बताउनुभएको छ । रेडियोको आइसोलेसनमा रहेर लेखा प्रशासन प्रमुख सहित दुई जना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा एकजनाले काम गरिरहेको देवकोटाको भनाइ छ । संक्रमणमा उच्च मनोबल बनाएर यस्तो संकटपूर्ण स्थितिमा काम गर्ने सहकर्मीप्रति अध्यक्ष देवकोटाले आभार प्रकट गर्नुभएको छ ।