जनता टाइम्स

१० भाद्र २०७७, बुधबार ११:४९

पहिलो महिनामै व्यापार घाटामा उल्लेख्य कमी, आयात घट्दा निर्यात बढ्यो


काठमाडौं, भदौ १०

चालु आर्थिक वर्ष २०७७\७८को पहिलो महिना नै व्यापार घाटामा उल्लेख्य कमि आएको छ । कोरोना महामारीका कारण भारत सहित तेस्रो मुलुकबाट आयात घट्दा व्यापार घाटामा उल्लेख्य कमी आएको हो ।

भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा व्यापार घाटा २२ दशमलव १७ प्रतिशत अर्थात २१ अर्ब ७० करोड २ लाख ९२ हजार रुपैयाँले घटेको छ । साउनमा मुलुकको व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार पुगेको भन्सार विभागले जनाएको छ ।

गत वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख ३२ हजार थियो । साउनमा भारत लगायतका विभिन्न मुलुकबाट ८५ अर्ब ८० करोड ७९ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु सामाग्री आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा आयात घट्दा निर्यात भने ८ दशमलव ८६ प्रतिशतले बढेको छ ।

विभागका अनुसार सो अवधिमा मुलुकबाट ९ अर्ब ६२ करोड ४९ हजार मुल्य वराबरको सामाग्री निर्यात भएको छ । पहिलो महिनामा डिजेल, पेट्रोल सवारी आयातमा भारी गिरावट आएको छ । साउनमा ८ अर्ब ८४ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको इन्धन आयात भएको विभागको तथ्याङक छ ।