जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार ०९:५२

भक्तपुर र चितवनमा एक / एक जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १ सय ८८ पुग्यो


काठमाडौं, भदौ १२। भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति ज्यान गएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा ज्यान गइसकेको उहाले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको बताउनुभयो । भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको ज्यान गएको थियो ।

यसैवीच चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् । अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ८७ पुगेको छ ।