काठमाडौं, भदौ १२
चीनले कोभिड–१९ को प्रभाव कम हुनेबित्तिकै केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको काम अघि बढाउन प्रस्ताव गरेको छ । रेलमार्गसहितका काम चरणवद्ध रुपमा अघि बढाउन नेपालसमक्ष प्रस्ताव गरेको हो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौता कार्यन्वयनका लागि सो पक्षले चासो व्यक्त गरेको छ । नेपाल–चीन दुई देशका उच्च अधिकारीहरु बीच बिहिवार भएको भिडियो कन्फ्रेन्समा अन्तर्देशिय रेलमार्गसहित चिनियाँ सहयोगका परियोजनाको निर्माणका विषयमा सहमति बनेको छ । कोभिड–१९ को प्रभाव कम हुने बित्तिकै यी आयोजना कार्यान्वयनको चरणमा लैजान चीनले भिडियो कन्फ्रेन्समा प्रतिवद्धता समेत जनाएको छ ।
अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना तथा चीनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का उपाध्यक्ष तंग बोछिंगबीच भएको छलफलमा चिनियाँ सहयोगका निर्माणाधीन तथा प्रस्तावित परियोजनाको कार्यान्वयनका विषयमा छलफल भएको थियो । प्रस्तावित परियोजनाहरुको द्रुत कार्यान्वयनका विषयमा दुबै पक्षले लिनुपर्ने पहलकदमीका विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भिडियो छलफलमा सीआईडीसीएका उपाध्यक्ष बोछिंगले चिनियाँ सहयोगमा प्रस्तावित परियोजनाहरुको कार्यान्वयनका लागि चीन प्रतिवद्द रहेको र कार्यान्वयनका लागि दुबै पक्षको राम्रो योजना तथा समन्वय आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले अरनिको राजमार्ग र काठमाडौंको चक्रपथ स्तरोन्नतिको दोस्रो चरणको परियोजना शीघ्र शुरु हुन लागेको पनि बताउनु भयो ।
चीनले कार्यान्वयनको प्रतिवद्दता गरेको केरुङ–काठमाडौं रेलमार्ग, टोखा–छहरे तथा बेत्रावती–स्याफ्रुवेशी सुरुङमार्गको सम्भाव्यता अध्ययन, चाइना एक्जिम बैंकको सहुलियत ऋणमा प्रस्तावित परियोजनाहरु, हिमाली जिल्लाहरुमा सञ्चालनको तयारी गरिएको जीवनस्तर सुधार परियोजना, वीर अस्पतालको विस्तार, कोरोलाको भन्सार विन्दु सुधार तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायतका परियोजना कार्यान्वयनको विषयमा छलफल भएको थियो ।
अर्थ मन्त्रालयका सचिव ढुंगानाले द्धिपक्षीय सहयोगका परियोजनाहरुको तीव्र कार्यान्वयन तथा अप्ठ्याराहरुलाई छलफलद्धारा टुंग्याउन आफूहरु प्रतिवद्ध रहेको बताउनु भएको थियो । उहाले चीनसँगको सहकार्यलाई नयाँ उचाईमा पु¥याउन नेपाल सरकार प्रतिवद्द रहेको पनि उल्लेख गरेको जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्