जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार ०९:२७

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु , १० महिने शिशुसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, भदौ १५ । चितवनको भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत् भरतपुरका ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो। ती पुरुषमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

यवैवीच चितवनका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त नतिजामा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्म छन्।

भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्। उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो। यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।