जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १०:१५

बामदेव गौतममाथि माधवका प्रिय बिष्णुको झटारो


काठमाडौं, भदौं १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिदेश बिभाग उपप्रमुख बिष्णु रिजालले उपाध्यक्ष बामदेव गौतममाथि कडा झटारो हान्नुभएको छ । उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको दावा छाडेर मनोनीत भइ राष्ट्रिय सभामा जाने इच्छा जनाएलगत्तै नेकपा केन्द्रीय सदस्यसमेत रहनुभएका रिजालले फेसबुकमार्फत गौतमलाई झटारो हान्नुभएको हो ।

नेकपाको बिवादमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लाग्दा उपाध्यक्ष गौतमको पक्षमा दृढतापुर्वक वकालत गर्दै आउनु भएका रिजाल साउन १६ गते एकताको ६ बुँदे प्रस्ताव पेश गरेपछि उहाँको कडा आलोचना गर्नेमा पर्नुहुन्छ । यही आलोचनाको बीच रिजालले राष्ट्रिय सभामा जान्छु भन्ने गौतमको दावालाई कसैले उक्साएको रुपमा बाहिर ल्याउनु भएको छ ।

चलचित्र, नाटक जस्ता रंगमञ्चमा कलाकारले खेलेको सकारात्मक वा नकारात्मक भूमिकाका आधारमा उसप्रति धारणा बनाउनु हुँदैन भन्दै रिजालले लेख्नुभएको छ, ‘पटकथा अनुसार भूमिका बदलिरहन्छ ।’ उपाध्यक्ष बामदेवको नाम कतै उल्लेख नगरी रिजालले पटकथाअनुसार उहाँलेराष्ट्रियसभा सदस्यमा आफू मनोनीत हुनुपर्ने भुमिका निर्वाह गरेको ठोकुवा गर्नुभएको छ ।

यस्तो छ रिजालको झटारो

चलचित्र, नाटक जस्ता रंगमञ्चमा कलाकारले खेलेको सकारात्मक वा नकारात्मक भूमिकाका आधारमा उसप्रति धारणा बनाउनु हुँदैन । एउटामा सकारात्मक भूमिकामा हुने पात्र अर्कोमा नकारात्मक रुपमा देखा पर्दछ । यो सबै उसको भूमिकामा होइन, पटकथामा निर्भर गर्दछ । पानीको कुनै आकार र रंग हुँदैन, जुन भाँडोमा, जुन रंग मिसायो, त्यस्तै हुन्छ । त्यसैगरी, अभिनय गर्ने कलाकारको भूमिकालाई पनि वास्तविक मान्न सकिन्न । किनभने, पटकथा अनुसार उनीहरुको भूमिका बदलिरहन्छ ।