जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १९:१४

नेकपा महासचिव पौडेलको ठोकुवा : पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको छ


रुपन्देही, जेठ १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको ठोकुवा गर्नुभएको छ । नेकपा जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा महासचिव पौडेलले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुंगिएर सबै तहमा सौहार्दपूर्ण तरिकाले संगठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको ठोकुवा गर्नुभएको हो ।

‘कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो, त्यसकारण हामीले हाम्रो इतिहासप्रति गर्व गनुपर्छ,’ महासचिव पौडेलले भन्नुभयो । उहाँले पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको बताउँदै आवश्यक पर्दा स्वस्थपूर्ण आलोचना र रचनात्मक सुझाव दिन सकिने निर्देशन पनि दिनुभयो । ‘पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको छ, यो यथार्थ बुझेर आवश्यक पर्दा स्वस्थपुर्ण आलोचना र रचनात्मक सुझाव दिन सकिन्छ,’ महासचिव पौडेलको निर्देशन थियो ।

पार्टीको बहुमत जुटाउन सबै क्षेत्र र तहमा संगठनलाई बलियो बनाउन कार्यकर्ताले विशेष ध्यान दिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । गाउँ, नगर र प्रदेशमा निर्वाचित पार्टी नेतृत्वले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

‘हामीले तीनै तहका सरकारको नेतृत्व गरेका छौं, हामीले जनताको मन जित्ने गरी काम गर्नुपर्छ,’ महासचिव पौडेलको भनाई थियो । पार्टीको भविष्य संगठनले गर्ने काममा भरपर्ने भएकाले विकास निर्माण र समाजवादको तयारीका लागि सबै तहका सङ्गठनलाई परिचालित गरेर अगाडि बढ्न आवश्यक रहेको धारणा उहाँको थियो ।