जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १९:३३

स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी छ : मुख्यमन्त्री पोखरेल


रुपन्देही, जेठ १३

नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीप्रति जनताको विश्वास बढाउन स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी रहेको आवश्यकता औल्याउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सो आवश्यकता औल्याउनु भएको हो । ‘पार्टीप्रति जनताको विश्वास बढाउन स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले कामबाट श्रेष्ठता हासिल गरेर जनाताको विश्वास जित्ने वातावरण तयार गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताउनु भयो । ‘सरकार बनाउने समाज बदल्नका लागि हो, समाज बदल्न सकिएन भने सरकारको नेतृत्व गर्नुको अर्थ रहँदैन,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव निर्मल जिसी लगायतले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन तल्लो तहदेखि नै कार्यकर्ता एक हुन जरुरी रहेको धारणा राख्नुभएको थियो । रुपन्देहीमा शिवराज सुवेदीको अध्यक्षतामा गठन भएको १७५ सदस्यीय कमिटीलाई पार्टी महासचिव बिष्णु पौडेलले शपथग्रहण गराउनुभएको थियो ।